Shittalpati
यी हुन गीत संगीतमा उदायका गैरे

पाल्पा, लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो हुम गैरे । पाल्पाको निस्दी गाउँपालिका–५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको सुपुत्रको रुपमा जन्मिएका गैरेलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोक गीतको क्षेत्रमा सबैले चिन्ने गर्दछन् । उनी गायक तथा सर्जक हुन् । नेपाली संगीत बजार डिजिटल मार्केटमा फड्को मार्नु अघि निकै थोरै मात्र ब्यबसायिक गायक, गायिका अनि सर्जकहरु थिए । त्यतिबेला गैरेको रिलमा निस्कने क्यासेट एल्बम दर्शक स्रोताले खोजी खोजी किन्ने र सुन्ने गर्दथे । अजकाल उनलाई स्रोताले युटुब, टिकटक, फेसबुक लगायतका डिजिटल गीत संगीतका प्लेट फर्ममा खोज्ने गर्दछन् । प्रविधिले गर्दा व्यवसायको प्रकृति फेरिए पनि उनको लोक प्रियता भने उस्तै छ । 

 परिवारको एकमात्र छोरोको रुपमा जन्मिएका कारण स्वाभाविकै उनमा परिवारिक जिम्मेवारी पनि उत्तिकै थियो । तर पनि हरेक कुरालाई सरल, सहज र सकारात्मक रुपमा लिने स्वभावका गैरे आफ्नो जिम्मेवारी ईमान्दारीता अनि लगनशिलताका साथ पुरा गर्दै गए । त्यति बेलाको समय अहिलेको जस्तो सहज थिएन । ब्यबसायिक रुपमा गीत गाउँछु कलाकार बन्छु भन्ने कुरा एउटा गाउँले केटोलाई कल्पना भन्दा नि बाहिरको कुरा थियो । सुरुवाती दिनमा परिवारको सहयोग खासै नभएपनि मगर समुदाय र गाउँले परिवेशमा हुर्केका कारण लुकी छिपी छिमेकी गाउँको रोधिमा गीत गाउँदै बिस्तारै सांगीतिक बाटो कोरेको हुँ आफ्नो सुरुवाती दिन सम्झिदै गायक गैरे भन्छन् । 

त्यो बेला गाउँ घरमा रोधि बस्ने चलन निकै थियो । उनलाई रोधिमा गाउन निकै रहर लाग्थ्यो । तर बाबा आमाको चाहाना छोराले धैरे पढोस् सरकारी जागीर खाओस् भन्ने थियो । त्यसैले पनि उनी खुलेर गीत गाउन पाउँदैन थिए । घरको झ्यालबाट भागेर लुकी छिपी मगर गाउँमा रोधि बस्न पुग्थे । गाउँका हरेक बिहे, भोज, पास्नी, पुजा आजा अनि मेलामा लुकी छिपी गीत गाउनको लागि उनी नपुगेको ठाउँ कमै हुन्थ्यो । गैरेले सम्झिन्छन् ‘रातीमा होमवर्क गर्न छोडेर लुकी छिपी घरको झ्यालबाट भागेर छिमेकी गाउँमा रोधी बस्न जाँदा धेरै पटक आमाको कुटाई खाँए ।’ विद्यालयको साप्ताहिक कार्यक्रम र गाउँका क्लवहरुको बार्षिक उत्सवका अवसरमा हुने साँस्कृतिक कार्यक्रम अनि रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखराबाट प्रसारण हुने बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेद्वारा सञ्चालित देउराली कार्यक्रमबाट औपचारिक गायन यात्रा आरम्भ गरेका गैरेले पहिलो पटक २०६० सालमा सिसा फ्रेममा बोलको पहिलो गीत रेकर्ड गराए । सर्मिला गुरुङ्ग र कृष्ण परियारसँग गाएको त्यो पहिलो गीतले नै उनलाई नेपालको पश्चिम क्षेत्रमा एउटा आशा लाग्दो गायकको पहिचान दिलाएको थियो । त्यसपछि रेकर्ड भएका हरेक गीत चर्चित हँुदै गएपछि एकातिर उनका फ्यान बढ्दै गए भने अर्को तिर उनी छोटो समय मै स्थापित कलाकार भए ।

२०५९ साल देखि २०६४ साल सम्म गैरेले धेरै स्थानीयस्तरदेखि राष्टिरुयस्तर सम्मका दर्जनौ दोहोरी गीत तथा एकल लोक गीत प्रतियोगिताहरुमा सहभागी हँुदै धेरै प्रतियोगिताहरुमा बिजेता बने । अहिलेका स्थापित गायिकाहरु बिष्णु माझी, देवी घर्ती, ज्योती मगर, कालिका रोका, जमुरा राना लगायतहरुसँग प्रतियोगितामा भिडेका गैरे  २०६४ साल पछि उनको संगीत यात्राले अर्को मोड लिएको थियो । सञ्चारकर्मी अनि गायन सँगसंगै शब्द रचना र भाका सिर्जनामा गैरे लागे । बियोगान्त गीत रचना गर्न, लेख्न र गाउन रुचाउनी गैरेको मौलिक पञ्चेबाजा, सालैजो, कौडा, रोईला (खेली), तिज गीतहरु,पर्व गीतहरु साथै केही आधुनिक र चलचित्रका गीतहरु पनि चर्चित छन् । गैरेले अहिलेसम्म करिब ७ सय भन्दा धेरै गीतमा शब्द रचना गरेका छन भने करिब १०० भन्दा धेरै गीतमा स्वर दिइसकेका छन् । नेपाली गीत संगीत विशुद्ध मौलिक एवं परम्परागत हुनु पर्छ भन्ने मान्यता राख्ने गायक गैरे देश तथा विदेशका स्रोता दर्शकका अतिरिक्त आफनो समुदायमा समेत लोक प्रिय छन् । उनले गीत गाउनको लागि स्वदेशका धैरे जसो जिल्ला, भारत, मलेसिया, दुबई, कतार, बहराईन लगायतका देशको भ्रमण गरिसकेका छन् । बरिष्ठ लोक गायक नारायण रायमाझी तथा बरिष्ठ लोक गायक ईन्द्र जिसीलाई सांगीतिक गुरु मान्ने गायक तथा सर्जक गैरे विभिन्न संघ संस्थामा समेत आवद्ध छन् ।

हजारौ कलाकारहरुको छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको संस्थापक पाल्पा जिल्ला सदस्य, सचिव र अध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत बनि सकेका छन् भने संगीत तथा चलचित्र उत्पादक समाज नेपालको संस्थापक सदस्य, माहासचिव हुँदै अहिले उपाध्यक्षको जिमेवारीमा छन् । गैरे स्थानीय, राष्ट्रिय पुरस्कारबाट समेत पुरस्कृत भएका छन् ।  उनको विशाल मुभिज नामको म्यूजिक कम्पनी समेत रहेको छ । गायन र सिर्जनासँगै गैरे पछिल्लो समय म्यूजिक भिडियो निर्देशनमा समेत ब्यस्त छन् । सयौं गीतको भिडियो निर्देशन गरि सकेका गैरेको निर्देशनमा सानु र कर्म नामक सामाजिक कथा बस्तुमा आधारित रहेको चलचित्र प्रर्दशनको तयारीमा रहेको छ ।      –प्रस्तुति : भुवन रायमाझी  

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update