Shittalpati
गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्छौ : उसभापति श्रेष्ठ

गुल्मी, काँग्रेस गुट, उपगुटमा रुमाली रहेको आरोप लागेका बेला नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गुट होइन रुख चिन्ने काँग्रेस निर्माण गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार नेपाली काँग्रेस प्रशिक्षण शाखा गुल्मीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उसभापति श्रेष्ठले गुट चिन्ने नभई रुख चिन्ने काँग्रेस निर्माणमा लागेको बताएका हुन् ।

काँग्रेसको लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख समेत रहेका उनले पार्टीको विचार र सिद्धान्तप्रति साधारण सदस्यदेखि नेतासम्म सबै प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन् । उनले पार्टीको विचार र सिद्धान्तमा कुनै खोट नभएको भन्दै पार्टीका सबै नेता तथा कार्यकर्ताहरु सबल र सक्षम काँग्रेस निर्माण गर्नका लागि समेत सबै प्रतिवद्ध हुनुपर्ने अवस्था आएको धारणा व्यक्त गरे ।
उपसभापति श्रेष्ठले पार्टीको विचार, सिद्धान्तको बारेमा सबैलाई जानकारी गराउन जरुरी रहेको बताए । ‘ सत्ताको लोभमा लागेर पार्टीको सिद्धान्त र आदर्शलाई पार्टी नेतृत्वले बिर्सन सक्छ तर त्यसमा काँग्रेसजनहरुले सचेत बनाउनुुपर्छ’ उनले भने, ‘सत्ता र भत्ताको काँग्रेस होइन, अब्बल र बलियो काँग्रेस निर्माणका लागि सबै जुट्न आवश्यक छ ।’

उपसभापति श्रेष्ठले पार्टीका हरेक गतिविधिलाई व्यवहारमा लागू गर्न जरुरी रहेको समेत बताए छ । उनले विधि र विधानलाई सबै तहमा कार्यान्वयन गरेर गतिविधि सञ्चान गरिने धारणा व्यक्त गरे । ‘स्थानीयस्तरका सम्पूूर्ण नेता तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गरेर पार्टीको नीति, विचार र सिद्धान्तप्रति सबैलाई कटिवद्ध बनाउनुपर्छ’ उपसभापति श्रेष्ठले भने,‘पार्टीका सबै गतिविधिलाई तल्लो तहसम्म लैजान जरुरी छ ।’

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा गुल्मी जिल्लाका समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नेतृत्व अध्ययनशील हुनुपर्ने भन्दै प्रविधिसँग पनि नजिक रहेर काम गरेमा निकै सहज हुने बताए । ‘पार्टीले सामाजिक विकासमा पनि विशेष ध्यान दिनुपर्छ । सबै नेता तथा कार्यकर्ताहरु एकता भएर पार्टी संगठनमा लाग्नुु अहिलेको आवश्यकता हो’ उनले भने  । नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीको अनुशासनलाई विशेष ख्याल गर्नुपर्ने बताए । पार्टी संगठनलाई चलायमान एवं क्रियाशील बनाउन जरुरी रहेको भन्दै पार्टीको सुन्दर भविष्यको लागि सबै एकजुट हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पार्टीको वैचारिक रुपमा नेता तथा कार्यकर्तालाई बलियो बनाउन सकियो भने पार्टी बलियो हुने उनको भनाई छ । पार्टी संगठनलाई बलियो बनाउन स्थानीयस्तरका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिइएको नेपाली काँग्रेस गुल्मीमा उपसभापति एवं प्रशिक्षण शाखा प्रमुख अनन्तराम पौड्यालले बताए । दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा स्थानीय तहका पार्टी प्रतिनिधि, काँग्रेसको जिल्ला प्रशिक्षण शाखा, भातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्लामा काँग्रेस पार्टीलाई संगठित एवं सुसूचित गर्ने उद्देश्य सहित बदलिदो परिस्थिति अनुसार काँग्रेस पार्टीलाई आमनागरिक समक्ष प्रस्तुत तथा पार्टीलाई रुपान्तरण र नयाँ चुनौतीको सामना गर्नको लागि प्रशिक्षण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update