Shittalpati
कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध छ : अध्यक्ष भट्टराई  

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको कला संस्कृतिको संरक्षणमा निजी क्षेत्र प्रतिवद्ध रहेको बताएका छन् । शनिबार  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको आयोजनाका भएको एकल लोक गीत प्रतियोगिताको फाइनल अडिसन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संघ जस्तो निजी क्षेत्रले कला, संस्कृतिको संरक्षणका लागि विशेष ध्यान दिएको बताएका हुन् ।

 उनले स्थानीय कलाकारहरुको संरक्षण गरी स्थानीय कला संस्कृतिको जर्गेनामा पाल्पा उद्योग वाणिज्य संघ प्रतिष्ठानसँग हाते मालो गर्दै अगाडि बढ्ने बताए । प्रमुख अतिथि समेत रहेका अध्यक्ष भट्टराईले भने ‘ संघले आयोजना गर्ने मेला महोत्सवमा समेत स्थानीय कलाकारहरुलाई प्राथामिकता दिने गरेका छौं, एकद्वार प्रणालीमार्फत हामीले कलाकारलाई ठाउँ दिएका छौं, यसले पनि केही हदसम्म भए पनि कलाको सरंक्षणमा टेवा पुुग्ने विश्वास लिएको छु ।’ विशिष्ट अतिथि प्रतिष्ठान लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष दामोदर बस्यालले  गाउँ –गाउँमा लुुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रदेशस्तरी प्रतियोगिता आयोजना  गरिएको बताए । उनले प्रतियोगीहरुलाई उत्कृष्ट प्रस्तुति दिन पनि आग्रह गरे । पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालले कलाकार र कला संस्कृतिको जर्गेना गर्ने दायित्व सबैको भएको बताए । उनले गीत संगीतले सुुतिरहेको मानिसलाई समेत जगाउन सक्ने तागत रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठान पाल्पाकी निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेशकी सचिव रेखा विष्ट, वरिष्ठ साहित्यकार चित्रवलीराम सुुवाल, प्रतिष्ठान रुपन्देहीका अध्यक्ष विजय सापकोटा, प्रतिष्ठान कोरिया शाखाका उपाध्यक्ष मिलन थापा, प्रेस युनियन पाल्पाका उपाध्यक्ष तथा प्रतिष्ठानका प्रेस सल्लाहकार रामचन्द्र रायमाझी लगायतले प्रतियोगीहरुको सफलताको कामना गरेका थिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष कमल भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको स्वागत, सचिव .बविता पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update