Shittalpati
प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण नियन्त्रणमा प्रचण्ड चारदिने औपचारिक भ्रमणमा भारत जान लागेका हन् । गत वर्ष बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । मोदीले लुम्बिनी भ्रमणका बेला नै नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

भ्रमणले दुई देशबीच परम्परागत बहुआयामिक सम्बन्धमा थप प्रगाढता ल्याउनुका साथै परस्पर विश्वासलाई पनि बढाउने निश्चित छ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो । प्रचण्डले पहिलोपटक प्रधानमन्त्रीका रूपमा २०६५ भदौ २९ देखि असोज २ सम्म (२००८ सेप्टेम्बर १४ देखि १८) भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसबेला दिल्लीबाहेक उनी बेंग्लोरको भ्रमणमा गएका थिए । पहिलोपटक प्रचण्ड भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा भारत गएका थिए । प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा ०७३ भदौ ३० देखि असोज २ (२०१६ सेप्टेम्बर १५ देखि १८ सम्म भारतको राजकीय भ्रमण गरेका थिए । त्यसबेला उनले हिमाचल प्रदेश र उत्तराखण्डको हरिद्वार भ्रमण गरेका थिए । प्रधानमन्त्री प्रचण्ड ०७३ असोज २९ देखि कात्तिक १ सम्म ब्रिक्स तथा बिमस्टेक नेताहरूको आउटरिच सम्मेलनमा सहभागी हुन भारतको गोआ गएका थिए । यस पटकको भ्रमणले नेपाल र भारतबीचको सदिऔँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको  छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण राष्ट्रहितमा केन्द्रित रहने बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत भ्रमणमा हवाई रुट अनुमति, विद्युत व्यापार र सीमा समस्या समाधान लगायतका दर्जन बढी एजेण्डामा छलफल हुने जानकारी दिएका थिए । भ्रमणको तयारीबारे प्रधानमन्त्री दाहालले व्यापारदेखि महाकाली सन्धिको डीपीआर निर्माण सम्मका विषयहरुमा छलफल हुने समेत बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update