Shittalpati
रेशम चौधरी जेलबाट छुटे

पाल्पा, कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जेलबाट छुटेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार ६ वर्षपछि जेलमुक्त भएका हुन् ।

 उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमलगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुलमालासहित कारागार पुगेका थिए ।

गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४ सय ८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।

थरुहट आन्दोलन चर्किंदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो । सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । उच्च अदालतले यसअघि फैसला सुनाउने क्रममा ‘टीकापुर घटना क्रूर, निर्मम र मानवताविरोधी’ भएको ठहर गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग लगायतका मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update