Shittalpati
देशलाई आर्थिक संकटबाट बचाउन संघीयता खारेज गर्नैपर्छ : उपाध्यक्ष पौडेल

पाल्पा, राष्ट्रिय जनमोर्चा नेपालकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले संघीयताको कारण देश आर्थिक रुपमा टाट पल्टिदै गएकाले तुरुन्त खारेज गर्नुपर्ने बताएकी छन् ।  राष्ट्रिय जनमोर्चा नेपालले जेठ १ गते देखी शुरु गरेको मेचीमहाकाली अभियानको क्रममा टोलीको नेतृत्व गर्दै पाल्पा आएकी उपाध्यक्ष पौडेलले संघीयताको कारण दिनहुँ विकास बजेट घट्दै गएको, चालु खर्च बढ्दै गएको र  कर्मचारीहरुलाई समेत तलव खुवाउन सरकारलाई धौ धौ परेकाले संघीयता खारेज गर्नुपर्ने बताईन् ।

उनले भनिन् ‘हाम्रो जस्तो सानो देशको लागि संघीयता आवश्यक छैन्, अहिले ठूूला पार्टीका नेता तथा कार्यकर्ता भत्ति केन्द्रको रुपमा प्रदेश संरचना स्थापित हुँदै गएका छन् ।’ नेपालमा प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको एकात्मक शासन प्रणाली नै उपयुक्त भएको उपाध्यक्ष पौडेलको भनाई छ । प्रदेश संरचनाको कारण वार्षिक अरवौं रकम भौतिक पुर्वाधार निर्माण देखी मन्त्री, कर्मचारीहरुको तलव व्यबस्थापनमा खर्च हुँदै आएको उनले बताईन ।  संघीयता हटाउन जति ढिलो भए देश आर्थिक रुपमा टाट पल्टिदै जाने उनले बताईन ।  पौडेलले भनिन् ‘देशमा अमेरीकी साम्राज्यवादको हस्तक्षेप बढ्दै गएको  छ, अझ पछिल्लो समयम त नेपालमा राजनीतिक दल नै खोलेर अमेरीकाले खुलेआम राज्य सञ्चालनमा समेत हस्तक्षेप बढाउदै लगेको छ, यसका विरुद्ध पार्टी सशक्त रुपमा लाग्ने छ ।’

एमसीसि परियोजनामार्फत देशमा अमेरीकी हस्तक्षेप बढ्दै गएको अवस्थामा मंसिरमा भएको निर्वाचन र बैशाखमा भएको उपनिर्वाचनमा अमेरीकाले राष्ट्रिय स्वतन्त्र पार्टीको खुलेआम प्रचार–प्रसार गरेको, पोप तथा पादरीहरुले खुला रुपमै प्रचार–प्रसारदेखी आर्थिक रुपमा सहयोग गरेको उपाध्यक्ष पौडेलले आरोप लगाईन् । राष्ट्रिय स्वतन्त्र पार्टी माथी अमेरीकाले गरेको लगानी र सहयोगको विषयमा राष्ट्रिय जनमोर्चा नेपाल जनसुकै समय र अवस्थामा राजनीतिक बहस गर्न तयार रहेको उनले बताईन ।

देशमा बढ्दै गएको भष्ट्रचारको कारण जनतामा बढेको वितृष्णाको समयमा मौका छोपी राजतन्त्रवादी शक्तिहरुको गतिविधी सक्रिय भए पनि गणतन्त्रको विकल्पमा अन्य शासन व्यवस्था नहुने उपाध्यक्ष पौडेलले बताईन । ‘पञ्चायता तथा राजतन्त्रमा पनि ठूूला ठूूला भ्रष्टचारका काण्डहरु भएका थिए तर जनताको बोल्न पाउने अधिकार कुण्ठित भएकाले बाहिर आएनन् , गणतन्त्रमा बोल्ने, लेख्ने  पुर्ण स्वतन्त्रा भएका कारण भ्रष्टचारका काण्डहरु पर्दापास हुँदै गएका छन् त्यसैले गणतन्त्रको विकल्पमा अन्य व्यवस्था हुन सक्दैन’ उनले भनिन् । केन्द्रमा विषयवस्तुमा आधारित रहेर सत्तागठबन्धनमा रहे पनि जनमोर्चाले जनहित विपरितका कार्यहरुमा आफ्नो स्वतन्त्र तरीकाले काम गर्दै आएको पौडेलले बताईन । बाग्लुङबाट शुरु भएको पुर्वतर्फको अभियान जेठ १५ गते काठमाडौमा समापन हुने छ ।  महेन्द्रनगरबाट शुरु भएको पश्चिमतर्फको अभियान जेठ १५ गते नै बुटवलमा समापन हुने राष्ट्रिय जनमोर्चाले जनाएको छ । जिल्ला अध्यक्ष विशाल दर्लामीको अध्यक्षतामा भएको कार्यक्रमको अखिल छैठोका सुदिप पौडेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update