Shittalpati
जातीय विभेद हिन्दु धर्ममा छैन : स्वरुपानन्द

पाल्पा, एक हजार आठ स्वामी स्वरुपानन्द महाराज सरस्वतीले हिन्दुु धर्ममा जातिय विभेद नभएको बताएका छन् । विश्व हिन्दु महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको  नेपाल देशीय वेदान्त सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    स्वरुपानन्दले जातको कुरा गरेर हिन्दु धर्मलाई कमजोर बनाउने काम भएको भन्दै हिन्दुु धर्ममा कुुनै त्यस्तो जातिय विभेद नभएको स्पष्ट पारे । उनले मानवमा कुनै जातजाती नभएको पनि बताए । स्वरुपानन्दल भने ‘जातजाती कामको आधारमा वर्गीकरण गरिएको हो ।’ कर्मको आधारमा एउटै बाबाको छोरा ब्राहमण, क्षेत्री, बैश्य र छुद्र हुने बताउँदै स्वरुपानन्द महाराजले जातको कुरा गरेर हिन्दु धर्म लाई कमजोर बनाउने काम हुनु दुखद् भएको बताए ।

वेद संसारको सबैभन्दा उत्कृष्ट विज्ञान ग्रन्थ भएको भन्दै उनले आत्मा कहिल्यै नमर्ने बताए । उनले भने,‘आत्माले बस्ने स्थान परिवर्तन गरी अन्य स्थानमा गएको अवस्थालाई हामी मानवले मानिसको मृत्यु भयो भनेर चिन्ता लिने गरेका छौं ।’ मानव जीवनमा गरेको कर्मको आधारमा आत्मा स्थानान्तरण हुने स्वरुपानन्दले बताए ।

कार्यक्रममा विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै सनातन हिन्दु धर्मले जातीय विभेदको परिकल्पना नगरेको बताए । कार्यपत्रको टिप्पणी गर्दै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक डा. शंकर गैरेले संस्कृत भाषा कर्मकाण्डी भाषा नभई एउटा बैज्ञानिक भाषा भएको बताए । हिन्दु धर्ममा कर्मको आधारमा जातपात निर्माण भए पनि अहिले सोही कुरा विकृतीको रुपमा फैलिएको  टिप्पणीकार गैरेले बताए । कार्यपत्रमाथी टिप्पणी गर्दै डा. गैरेले हरेक विषयबस्तुले गोलमोटल कुरा भन्दा पनि तथ्यमा आधारित भएर विषयबस्तु प्रस्तुत हुनु पर्नेमा जोड दिए । महासंघका जिल्ला अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती शर्माको स्वागत र सचिव तुल्सी गैरे घिमिरेको संञ्चालनमा भएको थियो । सम्मेलनमा सनातन हिन्दु धर्मका गुरुहरुको सहभागीतामा रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update