Shittalpati
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’

पाल्पा, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नक्कली शरणार्थी काण्डमा जोडिएका सबैलाई सत्य तथ्य अनुुसन्धान गरी कारवाही गर्न एसले सरकारलाई आग्रह गरेको छ । ‘नक्कली भुटानी शरणार्थी काण्डसम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानुनको घेराभित्र ल्याई कडाभन्दा कडा कानुनी सजाय दिन हामी सरकारसमक्ष जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ । सरकारले यस प्रकरणमा मुछिएकाहरूलाई कानुनी कारवाहीको दायरामा ल्याउन लिएको अडानले आममानसमा सकारात्मक सन्देश प्रवाह गरेको ठहर पनि एकीकृत समाजवादीले गरेको छ । निराश जनतामा आशा सञ्चार गरेको समेत पत्रमा उल्लेख छ, ‘निराश जनता केही मात्रामा आशावादी बनेका छन् । यसका लागि हामी नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।’ तर, विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएको हुँदा आमजनताको मनमा कतै यो संगीन मुद्दा पनि कमजोर बनाइने त होइन भन्ने आशंका उब्जिएको नेकपा एसको ठहर छ ।

‘दोषीलाई उन्मुुक्ति दिने कुराको हामी घोर निन्दा, भ्रत्सना र विरोध गर्दछौं । यस प्रकरणमा भएको अनुसन्धानलाई कमजोर पार्ने, विषायान्तर गरी जनताको ध्यान अन्यत्र मोड्ने कार्य कतैबाट पनि हुनुु हुुँदैन’ ज्ञापनपत्रमा भनिएको छ । कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात हुने भन्दै उसले सरकारलाई सचेत गराएको छ । अगाडि भनिएको छ, ‘नेपाल सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढतापूर्वक अनुन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने हाम्रो गम्भीर आग्रह छ ।’

सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । उसले झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो । यस नेपाल प्रहरीले प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएका छ । सो मुद्दामा साढे २७ करोड बराबरको बिगो समेत कायम हुने निष्कर्ष निकालेको छ । १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update