Shittalpati
आज नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति

पाल्पा, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसंद्मा प्रस्तुत गर्दै छन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । गठबन्धन नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको हो । सरकारले आर्थिक विकास, रोजगारी सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रममा जोड दिने गरी नीति तथा कार्यक्रम तयार पारेको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभाको विहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोशाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्री वा उपराष्ट्रपति कसले वाचन गर्ने भन्नेमा अन्योल रहेको थियो । बुधबार राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । राष्ट्रपतिले प्रस्तुत गर्न नसकेको खण्डमा भने उपराष्ट्रपतिले वाचन गर्नुपर्ने विज्ञहरूले बताएका छन् । नीति तथा कार्यक्रम पारितपछि प्रिबजेट छलफल गर्ने तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ । जेठ १५ मा सरकारले बजेट प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update