Shittalpati
लुम्बिनी काँगेसको प्रशिक्षण, प्रशिक्षणले पार्टीलाई बलियो बनाउँछ : सभापति पुन

प्यूठान (स्वर्गद्वारी), लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सभापति अमर पुनले प्रशिक्षक परीक्षणले पार्टीलाई बलियो बनाउने बताएका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा व्युठानको स्वर्गद्वारीमा भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सभापति पुनले अब पार्टीका हरेक कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्छ, अनि मात्र काँग्रेसप्रति युवा पुस्ताको आकर्षण बढ्ने बताए । उनले पार्टीका हरेक कार्यकर्तामा देखिएको नैराश्यतालाई कम गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका अगुवा काँग्रेस कार्यकर्तालाई प्रशिक्षक बनाएर जिल्ला जिल्लामा पठाउने काममा प्रदेश काँग्रेस अहिले अहोरात्र खटिरहेको छ । तीन दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षणको उद्घाटनको क्रममा नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले काँग्रेसले मुलुकका हरेक महत्वपूर्ण परिवर्तनहरुमा ठुलो योगदान गरेको तर त्यसका विषयमा जनतालाई बुझाउन नसकेको स्वीकार गर्दै, काँग्रेसका नेतालाई समयानुसार सुधार लग्नुपर्ने बेला आएकोले बताए । सहमहामन्त्री राठौरले सिष्टमको विकास गर्नुपर्ने बेला आएको, पार्टीभित्र अहिले अनुशासनमा कमी भएको पनि स्वीकार गरे ।

राठौरले उपनिर्वाचनको परिणाम र त्यसबारे पार्टीका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मालार्ई लक्षित गर्दै उपनिर्वाचनमा उहाँहरुलाई खटाएका थियौ, परिणाम हाम्रो अनुकुल आएन, त्यसकारण व्यक्तिगत प्रभावले मात्रै परिणाम राम्रो आउँदैन भन्ने देखियो, अव यस्ता गल्तीहरु सच्याउँनुपर्छ, लोकतन्त्र र बिकास वाहेक केही नपाएका तल्लोस्तरका भुई मान्छेको अभिभावक बनेर अगाडि बढ्नुको विकल्प काँग्रेस बन्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रशिक्षण विभागको यो अभियान १४ औं महाधिवेशन पछिको देशकै पहिलो अभियान भएको बताईएको छ । लुम्बिनी प्रदेशकै पवित्र प्युठानको भूमि स्वर्गद्वारीमा वैशाख २९, ३० र ३१ गते तीन दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षण तालिममा केन्द्रीय नेताहरु र अव्बल प्रशिक्षकहरुले जिल्लाको प्रशिक्षण विभाग र प्रशिक्षक बन्ने सोंचका साथ सहभागी भएका १ सय ५० जना नेतालाई काँग्रेसको नीति, कार्यक्रम र भावी योजनाका विषयमा प्रशिक्षित गरेका हुन् । प्रशिक्षणमा मुलुकको वर्तमान राजनैतिक परिदृश्य र भ्रष्टाचारको आरोप लागेका घटनाहरुको पनि खुलेर समीक्षा गरिएको प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । सहभागीहरुले जिल्लालाई केन्द्र र प्रदेशले दिएका निर्देशनलाई पुर्ण रुपमा कार्यन्वयन गर्ने, नीति अधिवेशन, भातृसंस्थाहरुको विस्तार, युवा परिचालन, पुराना नेताहरुको सम्मानमा कमी आउँन नदिने खालका कार्यक्रमलाई पार्टी तल्लो तह सम्म प्रभावकारी नबाएर लग्ने विषयमा जोडदार माग गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, अर्का केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेलले वर्तमान राजनैतिक अवस्था र पार्टीले अब चाल्नुपर्ने अर्थनीतिका विषयमा खुलेर वहस चलाए । प्रशिक्षणमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश सांसद निमा गिरी, युवा नेता गुरुराज घिमिरे, प्रशिक्षण प्रतिष्ठानका पुर्वकेन्द्रीय सदस्य विरेन्द्र शाह, तीर्थ पौडेल लगायतका आधा दर्जन महत्वपूर्ण व्यक्तित्वहरुले आवासीय प्रशिक्षण दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update