Shittalpati
रायमाझीलाई हिरासतमा राख्न अनुमति

पाल्पा, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई सोमबार जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुुमति दिएको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । रायमाझीलाई पक्राउ पूर्जी जारी गरिएकामा १२ औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । प्रहरीले खोजी गरिरहँदा बुधबार रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो । उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उक्त घटनामा एक सय छ जनाले २३ करोड २५ लाख ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update