Shittalpati
पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर 


प्युठान, नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेसमा सिष्टमको विकास गर्नुपर्ने बेला आएको बताएका छन् । उनले नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा शुक्रबादेखि व्युठानको स्वर्गद्वारीमा सुुरु भएको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सहमहामन्त्री राठौरले पार्टी सिष्टमले नचलेका कारण अहिलेको अवस्था आएको भन्दै अब सिष्टमले चल्नुुपर्ने बताए । उनले काँग्रेसले मुलुकका हरेक महत्वपूर्ण परिवर्तनहरुमा ठूूलो योगदान गरे पनि त्यसका विषयमा जनतालाई बुझाउँन नसक्दा समस्या आएको बताए । उनले भने‘अब काँग्रेसका नेताहरुमा पनि समयानुसार सुधार गर्दै जानुपर्ने बेला आएको छ,प्रत्येक नेताहरुलाई प्रशिक्षणको आवश्यकता रहेकाले प्रदेशले यो कार्यक्रम आयोजना गर्नु सकरात्मक छ ।’ 

सहमहामन्त्री राठौरले लोकतन्त्र र विकास बाहेक केही नपाएका तल्लोस्तरका भुई मान्छेको अभिभावक बनेर अगाडि बढ्ने पार्टी भनेको नै काँग्रेस रहेको बताए । उनले भने‘ अहिले कहि कतै पार्टी भित्रै पनि असन्तुष्टीका स्वरहरु आई रहेको अवस्थामा त्यसको अन्त्यका लागि यो प्रशिक्षण कोसेढुंगा सावित हुने छ ।’ राठौरले पार्टीका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै भने‘, उपनिर्वाचनमा उहाँहरुलाई खटाएका थियौ, तर परिणाम हाम्रो अनुकुल आएन्, त्यस कारण व्यक्तिगत प्रभावले मात्रै परिणाम राम्रो आउँछ भन्ने छैन् । संगठनका बलमा मात्रै गरेका कामहरुले सफलता पाउँन सकिन्छ ।’  

विशिष्ठ अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले महाप्रभुको तपोभूमि स्वर्गद्वारीमा पार्टीलाई पवित्र मन लिएर अगाडि बढ्ने सोंचका साथ कार्यक्रम आयोजना गरिएको बताए । उनले ज्ञानका कुरा थाहा दिने असल दूतहरु तयार भएर जिल्लाफर्के पछि नेपाली काँग्रस तलदेखि माथि सम्म प्रभावकारी र सुदृढ भएर अगाडि बढ्ने क्षमताको विकास हुनेमा विश्वास व्यक्त गरे । 
सभापति पुनले अब काँग्रेसलाई समय अनुसार परिवर्तन गर्न सकिएन भने समस्या उत्पन्न हुने बताए । उनले भने ‘पार्टी बलियो बनाउनका लागि सबै भन्दा पहिले प्रत्येक नेताले पार्टीका सिद्धान्त विचारलाई समय अनुसार अगाडि बढाउनका लागि सहयोगी माध्यम भनेकै प्रशिक्षण हो ।’ जेठमहिना भित्र प्रदेश सम्मेलनको तयारीका लागि प्रत्येक जिल्लामा प्रतिनिधी खटाई सकिएको समेत उनले बताए । 
कार्यक्रम लुम्बिनी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभागका प्रमुख भूवनप्रसाद श्रेष्ठले प्रशिक्षणले जिल्लादेखि टोलसम्मका काँग्रेसका कार्यकर्ता र नेतृत्वतहमा असल व्यक्तित्वहरु तयार गर्ने विश्वास व्यक्त गरे । 

काँग्रेसका केन्द्रीय सदस्य तथा अर्थविद् डा।गोविन्द पोख्रेलले, मुलुक अहिले आर्थिक संकटमा परेको भन्ने हल्लाहरुमा सत्यता नभएको बताए । 
उनले भने ‘२०४८ साल पछि नेपाली काँग्रेसले अवलम्वन गरेको आर्थिक नीतिका कारण विकासका हरेक बाटाहरु तयार भएका छन्  ।’

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा प्रदेश सांसद् निमा गिरीले प्रशिक्षण  काँग्रेसका लागि कोशेढुंगा सावित हुने बताईन् । नेपाली काँग्रेस प्युठानका सभापति विष्णु गिरीले स्वर्गद्वारमा भएको यो तीन दिने भेलाले काँग्रेसलाई नयाँ उर्जा थप्ने धारणा व्यक्त गरे । सात प्रदेशमा पहिलो पटक लुम्बिनी प्रदेशले शुरु गरेको यो प्रशिक्षक प्रशिक्षणमा अर्थविद् डा।गोविन्द पोख्रेल, केन्दीय सदस्य मधु आचार्य, युवा नेता गुरुराज घिमिरे, प्रशिक्षण प्रतिष्ठानका पुर्वकेन्द्रीय सदस्य विरेन्द्र शाह, तीर्थ पौडेल लगायतका व्यक्तित्वहरुले आवासीय प्रशिक्षण दिने छन् ।  प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ५० भन्दा धेरै अगुवा नेताहरुको सहभागिता रहेको छ ।  प्रशिक्षण वैशाख २९, ३० र ३१ गते तीन दिनसम्म चल्ने छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update