Shittalpati
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा पाल्पाले पनि शुक्रबार जिल्ला प्रशासन कार्यालय पुुगेर सहायक प्रमुख जिल्ला अधिकारी भक्ति सरा रानामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापनपत्र बुझाएको छ । राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवरसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।

राप्रपाले २०४६ पछिका सबै उच्च पदस्थ नेताको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गरियोस् भन्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राप्रपाले संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान समेत गरेको छ ।

पछिल्लो समय सरकारले नक्कली शरणार्थी काण्डमा संलग्नहरूलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै कारबाही प्रक्रिया नरोक्न पनि राप्रपाले आग्रह गरेको छ । उक्त काण्डमा राज्य संयन्त्र नै संलग्न रहेको तथा ठूलो गिरोह रहेको हुनसक्ने भन्दै दोषीलाई उन्मुक्ति दिन नहुने उसको अडान छ । राप्रपाले छानविनमा निर्दोष कोही नपरुन् र दोषी कोही नछुटुन् भन्ने कानुनको सम्मान गर्दै दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना वा चलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update