Shittalpati
‘पाल्पाको भाषा, कला साहित्य र संस्कृति’ लोकार्पण

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको भाषा, कला साहित्य र संस्कृति समेटिएको कृति लोकार्पण गरिएको छ । नारी साहित्य तथा संस्कृति प्रतिष्ठान पाल्पाले शनिबार तानसेनमा एक कार्यक्रमका बिच कृतिको लोकार्पण गरेको हो ।

उक्त कृतिको लुम्बिनी प्रदेशका पूूर्व मन्त्री एवं प्रदेशसभासद वीरबहादुर रानाले विमोचन गरेका हुन् । कृति विमोचन गर्दै सांसद रानाले पछिल्लो समय पाल्पा साहित्य, कला संस्कृतिको जिल्लाको रुपमा पहिचान बनाउँदै गएको बताए । अहिले पाल्पाका दिनहँुजसो साहित्यकारहरुले विभिन्न भाषा कला संस्कृति र इतिहासका विषयमा कृतिहरु प्रकाशन गर्दै आएकाले पाल्पाको पहिचान बढ्दै गएको उनको भनाई थियो । मानिसहरु चोक चोकमा बसेर अरुको कुरा काट्नु भन्दा आफ्नो चरित्र बनाउनेतर्फ ध्यान दिन सांसद रानाले सबैलाई अनुरोध गरे । उनले भने ‘साहित्यमा लाग्नु भनेको आत्मसन्तुष्टि पाउनु हो, जब मनमा आत्मसन्तुष्टि हुन्छ जीवन सार्थक हुन्छ, साहित्यले जीवनलाई सार्थक बनाउने र मनलाई बाध्ने काम गर्दछ ।’

कार्यक्रममा समीक्षक तथा प्राध्यापक पुष्कर आचार्यले पाल्पाको कला, संस्कृति र साहित्यलाई अनुुसन्धनात्मक रुपमा कृतिमा उल्लेख गरिएको बताए । उनले भने‘ खोज, अनुसन्धान, ज्ञान, सूचनाको दृष्टिले कृति ओझिलो छ ।’

भाषा, कला संस्कृतिको जगेर्नाले समाज र राष्ट्रको पहिचान हुने भएकाले त्यसको संरक्षण गर्ने काम स्थानीय सरकारले धयान दिनुपर्नेमा समीक्षक आचार्यले जोड दिए । महिला साहित्यकारको अगुवामा कृति प्रकाशन हुनुु आफैमा गर्वको विषय भएको उनले बताए । कृतिमा विभिन्न २० वटा अनुसन्धनात्मक लेख रचना रहेका छन् । कृतिको मूूल्य ५ सय रुपैयाँ राखिएको छ । कृतिको विषयमा प्रकाश पार्दै कृतिका सम्पादक तथा प्रतिष्ठानका अध्यक्ष मन गहिरेले पाल्पाको भाषा कला साहित्य र इतिहास केन्द्रित लेख रचना भएकाले यो सबैका लागि पठनिय, संग्रहयोग्य रहेको बताईन् । कार्यक्रममा साहित्यकारहरु विजया पन्त, हरि भट्टराई, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई लगायतले शुभकामना दिएका थिए । सोही अवसरमा कृतिका लेखकहरुलाई सम्मान समेत गरिएको थियो । प्रतिष्ठानकी अध्यक्ष मन गहिरेको अध्यक्षता, सदस्य सरिता रेग्मीको स्वागत, सचिव मञ्जु कोईरालाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update