Shittalpati
गीत संगीतमा चम्किएका रामचन्द्र : फेरि ल्याए ‘घाँटी रेट्नलाई’

पाल्पा, लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो रामचन्द्र चन्द । गुल्मीको अग्लुङमा आमा मिनाकुमारी चन्द र बुवा भिमसेन चन्दको सुपुत्रका रुपमा जन्मिएका चन्दलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोकदोहोरी क्षेत्रमा सबैले चिन्ने गर्दछन् ।

लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका छन् । स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने चन्द पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएका छन् । २०६३ सालदेखि लोक संगीतको क्षेत्रमा प्रवेश गरेका उनी दर्जानौं गीत निकालेर दर्शकहरुको मन मनमा बस्न सफल भएका छन् । चन्दले ‘माया सारै छ’ बोलको पहिलो लोकदोहोरी गीत बजारमा ल्याएका थिए । यो गीतको अपार सफलतापछि उनले चरी रुखमा, भीरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, आमा अँध्यारो, तीन फुर्के डोरी, फूल फुल्यो केसरी, मेची महाकालीलगायतका दर्जनौँ गीतमा स्वर दिएका छन् । लामो समय सञ्चारकर्म गरी नेपाली लोक संस्कृतिको फाँटमा प्रवेस गरेका चन्दले विशेष गरी सामाजिक यथार्थ र माया, पिरतीका गीतलाई प्राथमिताका दिने गर्दछन् ।

पछिल्लो समय उनले ‘घाँटी रेट्नलाई’ बोलको गीत दर्शक, स्रोतामाझ ल्याएका छन् । गीतमा गायक चन्द र समीक्षा अधिकारीको स्वर रहेको छ । नन्दु परियारको संगीत रहेको गीतको शब्द भने प्रकाश न्यौपानेले गरेका छन् । सिर्जना बराल ‘ऋषि’को निर्देशनमा जीबी चिरन, यशु भट्टराई, अञ्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय रहेको गीत चन्दले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा एक अर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथालाई चित्रर्ण गर्न खोजिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्द राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्डबाट समेत सम्मानित भएका छन् । लोक गायन पुरस्कार–२०७६, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९ जस्ता अवार्डबाट उनी सम्मानित भएको पाइन्छ । सांगीतिक कार्यक्रमका लागि देशका प्रायः सबै जिल्लाको भ्रमण गरेका चन्द विभिन्न देशमा समेत पुगेका छन् । गीतमार्फत राम्रो छवि बनाएका उनले पछिल्लो समय गीत संगीतमा लोक परम्परा भन्दा पनि अन्य गीत संगीतमा स्रोताहरुको ध्यान बढेको बताए । उनले अडियो, भिडियोहरु स्तरीय हुँदा हुँदै पनि स्रोताहरुको ध्यान बढी रोमान्टिक र छोटा आयुका गीतहरुमा केन्द्रीत रहेको बताउँछन् ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update