Shittalpati
लोक दोहोरी प्रतिष्ठान लुुम्बिनीको पाल्पामा भित्तेपात्रो विमोचन

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशले २०८० सालको भित्ते पात्रो विमोचन गरेको छ । प्रतिष्ठान लुुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा बिहीबार पाल्पाको तानसेनमा भित्तेपात्रो विमोचन गरिएको हो ।

प्रतिष्ठानका केन्द्रीय सल्लाहकार खीमबहादुर हमालले भित्ते पात्रोको विमोचन गरेका हुन् । सोही अवसरमा आउँदै गरेको नयाँ वर्षको शुुभकामना समेत आदान–प्रदान गरिएको थियो । भित्तेपात्रोको विमोचन गर्दै प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका केन्द्रीय सल्लाहकार हमालले कला संस्कृति राष्ट्रको गहना भएको र यसको संरक्षणका निम्ति कलाकारहरु निस्वार्थ भावनाका साथ निरन्तर लागिपरेको बताए । उनले कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउनुपर्ने भन्दै कला संस्कृतिको जगेर्ना र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकाले कला संस्कृतिको क्षेत्रमा उलेख्य बजेट विनियोजन गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई आग्रह गरे । विशिष्ट अतिथि प्रतिष्ठानका केन्द्रीय सचिव दीपक गरौजाले संस्थागत विकासका लागि सबै कलाकार एकजुट हुनुपर्ने बताए । उनले संस्थागत विकाससँगै लोक दोहोरी क्षेत्रमा देखिएको विकृतिलाई चिर्दै एक भएर जानुुको विकल्प नरहेको धारणा व्यक्त गरे । प्रतिष्ठानका केन्द्रीय सह–सचिव सिता रानाले संस्था बलियो बनाउन रचनात्मक काम गर्नुपर्ने बताइन् । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले लामो समयको कोभिडका कारण उद्योगी व्यवसायी र आम नागरिकमा नैराश्यता छाएका बेला गीत संगितमार्फत समस्यालाई निराकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समयमा नैराश्यताले गर्दा समाजमा आत्महत्याका घटनामा समेत वृद्धि भएकाले यस्ता खालका घटनालाई रोक्न र देशको विषम परिस्थितिलाई मनन् गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालका गीत संगीत रचना गर्नतर्फ ध्यान दिन कलाकारहरुलाई आग्रह गरे ।

तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीले राष्ट्रको गहनाका रुपमा रहेको कला संस्कृतिको जगेर्ना र संरक्षणका लागि तानसेन नगर सरकारले विशेष योजना ल्याएको बताए । उनले तानसेनमा आउने पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तानसेनको बतासेडाँडामा सांस्कृतिक डवली निर्माणको काम भइरहेको बताए । नगर प्रवक्ता कार्कीले मेला महोत्सवमा जाँदा कलाकारहरुको एकद्वार प्रणालीको व्यवस्था गर्न प्रतिष्ठानलाई आग्रह समेत गरे । तानसेन–६ का वडा अध्यक्ष सागरमान महर्जनले गीत संगीतले मानिसलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । उनले कलाकारहरुकै कारण नेपालले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल भए पनि उनीहरुको नेपालमा उच्च मूल्याड्ढन हुन नसकेकोमा दुख व्यक्त गरे । बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी अधिकारीले सकरात्मक सोंचका साथ समाज र राष्ट्र निर्माणमा गीत संगीतका माध्यमबाट सशक्त ढंगले लाग्न कलाकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा पाल्पाली हाँस्यकलाकार किरण चित्रकार, पत्रकार महासंघ पाल्पाका सचिव तथा प्रतिष्ठानका सल्लाहकार यज्ञमूर्ति तिमिल्सीना, नेकपा एमाले तानसेन नगरका अध्यक्ष गुराँस आत्रेय, नेपाली काँग्रेसकी नेतृ शान्ति झेडी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरे, प्रतिष्ठान पाल्पाका सल्लाहकार रामचन्द्र रायमाझी, प्रतिष्ठान पाल्पाका संस्थापक उपाध्यक्ष दिनेश रावल, प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराई लगायले आ–आफ्ना धारणा राखेका थिए । प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरको अध्यक्षता, सचिव योगराज पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update