Shittalpati
तानसेनको साहित्य र संस्कृतिको काठमाडौंमा चर्चा

पाल्पा, जिल्लाको तानसेन आफैमा साहित्य र संस्कृतिले परिचित छ । यी दुुई क्षेत्रले उर्वर मानिएको तानसेनको बेला–बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै चर्चा परिचर्चा हुने गर्दछ । काठमाडौंमा पनि शनिबार तानसेनको साहित्य र संस्कृतिका बारेमा चर्चा भएको छ । तानसेन गुठी काठमाडौंले आयोजना गरेको अन्तक्र्रिया तथा कविता वाचन कार्यक्रममा तानसेनका यी क्षेत्रका विषयमा व्यापक चर्चा भएको हो ।

तानसेनबाट विभिन्न पेशा, व्यवसाय र रोजगारको शिलशिलामा काठमाडौं रहेका र देशका विभिन्न जिल्लाबाट काठमाडौंमा बस्दै आएका साहित्यकारहरुले तानसेनको साहित्य र संस्कृतिका बारेमा चर्चा परिचर्चा गरेका हुन् । उनीहरुले साहित्य र संस्कृतिले तानसेनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएको बताएका छन् । तानसेनका ऐतिहासिक जात्रा, पर्वहरुले शहरलाई सुुन्दरता प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको उनीहरुको भनाई छ । काठमाडौंका साहित्यकारहरुले तानसेनको साहित्य फाँटलाई आफुहरुले राम्रोसँग नियालेको भन्दै यहाँको साहित्यलाई आफुहरुले अनुसरण समेत गरेको उल्लेख गरे । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह र समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले ‘तानसेनको चिनारी : साहित्य र संस्कृति’का बारेमा तयार पारेको जानकारीमूलक पत्र प्रस्तुत गरिएको थियो । समाजका अध्यक्ष रेग्मीले उक्त पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रेग्मीले तानसेनको विगत र वर्तमानमा साहित्य र संस्कृतिका बारेमा जानकारी गराएका थिए । तानसेनका थुप्रै ऐतिहासिक जात्रा र पर्वहरुलाई साहित्यको माध्यमबाट विश्वव्यापीकरण गर्ने प्रयास गर्दै आइएको समाजका अध्यक्ष रेगमीले बताए । उनले तानसेनको पहिचान र चिनारी भनेकै साहित्य र संस्कृति रहेकाले त्यसको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे । समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले तानसेनको संस्कृति र साहित्य एक आपसमा परिपुरक रहेको बताए । उनले तानसेनको संस्कृतिलाई साहित्यमार्फत उजागर गर्ने काममा आफु लागेको समेत उल्लेख गरे । संस्कृतिको विकास साहित्य र साहित्यको विकास संस्कृतिका रुपमा जोड्ने काम पाल्पा साहित्य समाजले गर्दै आएको संरक्षक सिंहले बताए । वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले तानसेनको साहित्य र संस्कृतिको सबैले अनुसरण गर्नुपर्ने बताए ।

कार्यक्रममा टीप्पणीकार रामचन्द्रमान सिंह, साहित्यकारहरु बनमाली लाकौल, हेमन्तराज कोलाक्षपति, डा.भवेश्वर पंगेनी, पदम न्यौपाने, विनोद नेपाल, वेटी बज्राचार्य, ज्ञानकाजी शाक्य, रेणुका जोशी, सीता बिष्ट कार्की, कृष्ण केसी, नैना नेपाल, गीता गोंगल, वीरेन्द्र मालाकार, श्रीमणि खनाल, द्वारिका कुइकेल, शोभा गौतम लगायतले तानसेनको साहित्य र संस्कृतिका बारेमा चर्चा गर्दै कविता वाचन गरेका थिए । गुठीका अध्यक्ष निलम गोंगलको अध्यक्षता, पूर्व अध्यक्ष हिमाल कसजूको स्वागत, पूर्व अध्यक्ष शान्ता शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update