Shittalpati
आज देशभर चैते दशैं मनाइदैं

पाल्पा, आज चैत्र–अष्टमी अर्थात् चैते दशैं पर्व मनाइदै छ । आज देशभर दुर्गा भवानीको पूजा आराधना गरी चैते दशैं पर्व मनाइने गरिन्छ । असुर शक्ति माथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।

चैते दशैं पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गर्दछन् । मुख्य दशैंमा झै चैते दशैंमा पनि दुर्गाको पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दशैं मनाइन्छ । आज अशोकको फूल खाने पनि गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ । छोरी चेली लगायत दिदीबहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update