Shittalpati
असारेका जनताको घर–घरमा खानेपानीको धारा

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ असारेका जनताले घर–घरमै खानेपानीको सुविधा पाएका छन् । दैनिक एक घण्टा लगाएर खोलामा पानी बोक्न जानु पर्ने बाध्यता असारेका जनतालाई हटेको छ । गाउँमा तल्लो र उपल्लो असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछी जनताले घर–घरमै खानेपानीको धारा पाएका हुन् ।

असारे लिफ्ट खानेपानी आयोजनाको एक औपचारिक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभाका सदस्य पूर्वमन्त्री वीरबहादुर रानाले धारा खोलेर शुभारम्भ गरे । लुम्बिनी प्रदेशसभा सदस्य रानाले गाउँ गाउँमा पनि अब शहर बजारमै जस्तै घर–घर पानीको धारा वितरणले सुखका दिन आएको बताए । घर घरमा खानेपानीको धारा आएपछि अब व्यबसायिक रुपमा तरकारी खेती तथा कृषि काम गरेर आम्दानी लिनुपर्नेमा पूर्वमन्त्री रानाले जोड दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले गाउँपालिकाले पालिका भरी नै एक घर एक धारा अभियान चलाई रहेको र केही वर्षमा सबैका घर–घरमा खानेपानीको धारा पुग्ने बताए । असारेका जनताले पानी बोक्ने समयमा घर घरमा तरकारी खेती गरेर आम्दानी गर्नुपर्ने, रिडी तानसेन बजारमा असारेको तरकारी बेचेर आम्दानी गरेमा मात्र घर–घरमा पानी ल्याएको औचित्य हुने पालिका अध्यक्ष भट्टराईले बताए ।

उपाध्यक्ष युवराज थापाले जनताको घरदैलोको सरकार भनेकै स्थानीय सरकार भएकाले जनताका हरेक दुःख अफ्ठेरोमा सहयोग गर्दै आएको बताए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, पाल्पाका प्रमुख अनोज उपाध्यायले लुम्बिनी प्रदेश सरकारले पानी विना मानिसको जीवन यापन सहज नभएको, पानीकै कारण मानिसहरुले धेरै दुःख पाएका कारण एक घर एक धारा अभियान चलाएको बताए । कार्यक्रममा १ का वडा अध्यक्ष सोम बहादुर दर्लामी, स्वास्थ्य शाखा प्रमुख जीवन रानाले घर–घरमा आएको खानेपानीलाई आयआर्जनमा जोड्नु पर्नेमा जोड दिए । कार्यक्रममा आयोजनाको टंकी निर्माणको लागि सहयोग गरेका जग्गा दाता तथा विभिन्न सहयोगीहरुलाई प्रमुख अतिथि राना, पालिका अध्यक्ष भट्टराईले सम्मान गरेका थिए । समितिकी अध्यक्ष ईन्द्रा बुढाको सभापतित्व, रोशन बुढाको स्वागत, सचिव लिला रेश्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । खानेपानी आयोजनाबाट जम्मा ५१ वटा धारा निर्माण भएका छन् । जस मध्ये ४ वटा सार्वजनिक र ४७ वटा व्यक्तिगत धारा वितरण भएको समितिले जनाएको छ । गाउँपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाबाट आयोजनाका लागि ५५ लाख विनियोजन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update