Shittalpati
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी

रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तहहरूले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहेका छन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत–साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक–आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् । यसले योजना तर्जुमालाई स्थानीय सरकारले गम्भीरतापूर्वक आत्मसात् गरेको पाइँदैन । स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान र कुनै बाह्य दाताले सहयोग गरेको अवस्थामा औपचारिकता पूरा गर्न वार्षिक योजना तथा अन्य आवधिक योजना बन्ने गरेका छन् । स्थानीय तहहरूसँग स्वायत्त तवरमा आफ्ना योजना बनाउने र तिनको कार्यान्वयन गर्ने संवैधानिक अधिकार छ । तर स्थानीय तहहरू योजना तर्जुमा र कार्यान्वयनको प्रभावकारी अभ्यासमा चुकिरहेका छन् ।

पहिलो कार्यकालको सुरुका वर्षमा अनुभवको कमी रहे पनि स्थितिमा अपेक्षित सुधार भएको देखिएन । केही सीमित जनप्रतिनिधि र कर्मचारीको समूहबाट औपचारिकता पूरा गर्ने गरी मनोमानीमा योजना तथा बजेटको बाँडफाँड गर्ने प्रवृत्ति हाबी हुने गरेको छ । यो योजना तर्जुमा र कार्यक्रम निर्माणका लागि आवश्यक मापदण्डको अज्ञानताका कारण यस्तो भएको हो । जनप्रतिनिधि र कर्मचारीलाई ज्ञान, सीपको अभावमा कार्यक्रम,योजना निर्माण र कार्यान्वयन प्रभावकारी बन्न नसिकरहेका बेला पाल्पा विकास केन्द्रले भने योजना तथा कार्यक्रम निर्माणका क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट ज्ञान हासिल गर्ने वातावरण सिर्जना गरिदिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको केन्द्रले पाल्पाका स्थानीय सरकारलाई कार्यक्रम, योजना निर्माण र कार्यान्वयनमा प्रभावकारी बनाउने उद्देश्यले योजना र कार्यक्रम निर्माणमा प्रत्यक्ष संलग्न रहने जनप्रतिनिधि र कर्मचारीहरुलाई तानसेनमा दुुई दिने कार्याशाला सञ्चालन गरेको छ । शनिबारदेखि आइतबारसम्म सञ्चालन हुने कार्यशालामा जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, योजना अधिकृतहरुको सहभागीता रहेको छ । कार्यशालाको पहिलो दिन उनीहरुलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव रामप्रसाद पाण्डे, उपसचिव भविश्वर घिमिरेले योजना निर्माण, योजना तर्जुमाका चरण, बजेट निर्माण, सुशासन, अुगमन,वित्तिय संघीय र व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका छन् ।

कार्यशालाको दोस्रो दिन पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डे लगायतले सहजीकरण गर्ने आयोजक संस्था पाल्पा विकास केन्द्रले जनाएको छ । कार्यशालाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शुुभारम्भ गरेका हुन् । कार्यक्रमको शुुभारम्भ गर्दै खनालले कार्यशालाले योजना तर्जूमाका विषयमा जनप्रतिनिधि र कर्मचारीलाई थप ज्ञान प्रदान हुुने बताए । केन्द्रका अध्यक्ष कृष्ण पोखरेले योजना तर्जुमादेखि कार्यान्वयन, व्यवस्थापन र अनुगमन–मूल्यांकनको कामलाई एकीकृत ढंगले लागू गरी विकास र सेवाप्रवाहलाई नतिजामूलक र प्रभावकारी बनाउनुको साथै स्थानीय सरकारलाई पारदर्शी, सहभागितामूलक र जवाफदेही बनाउन कार्यशालाले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । स्थानीय तहमा कार्यक्रम, योजना निर्माण र कार्यान्वयन प्रभावकारीसँगै आमनागरिकले अनूभूत गर्न सकुन भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले बताए । कार्यशालाको आज समापन हुने छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update