Shittalpati
वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम

पाल्पा, पाल्पामा वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ । डिभिजन वन कार्यालय पाल्पाको आयोजनामा विभिन्न कार्यक्रम गरी सचेतना मूलक साप्ताहव्यापी कार्यक्रम गरिएको हो । हरेक वर्ष वन डढेलोका सम्बन्धी विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आइएको छ ।

जिल्लामा डढेलो लाग्ने वन क्षेत्रमा सरसफाई, झांकीसहितको चेतनामूलक र्‍याली र जनचेतना जगाउन राष्टिूय कलाकारसहित दोहोरी गीत कार्यक्रम आयोजना गरिएको हो । जनचेतनामूलक कार्यक्रममा राष्ट्रिय कलाकार चिज गुरुङ्ग र अस्मिता डल्लाकोटीले वन डढेलो र यसको असर बारे साँगीतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा ७१ स्थानमा वन डढेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो । जिल्लामा ७ सय बढी सामुदायिक वन छन् । यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ । पाल्पामा वन डढेलो ९६ प्रतिशत मानविय कारणबाट लाग्ने गरेको छ । यसमा सामुदायिक वनको जिम्मा लिएका उपभोक्ता समितिलाई जिम्मेवार र नियमन गर्न नसक्दा वर्षेनी समस्या निम्तने गरेकाले सम्पूर्ण नागरिक र सरोकारवाला निकाय क्रियाशिल रहनुपर्ने जिल्ला वन अधिकृत नारायणदेव भट्टराईले बताए ।

यसैगरी डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्याललका अनुसार पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका अधिकृत अर्यालले बताए । उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्ला वन कार्यालय पाल्पाले कारणवस वन डढेलो लागेमा तत्काल नियन्त्रण गर्न उपकरण सहितको द्रुत परिचालन फोर्स समेत बनाएको छ । पाल्पामा ७ सय ४ सामुदायिक वन रहेका छन् । वन ऐन २०७६ को दफा ४९/५० अनुसार यदी कसैले जानजान वन डढेलो लगाएको ठहरिएमा ६० हजार जरिवाना सहित ३ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update