Shittalpati
पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो

पाल्पा,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।

पाल्पाका १० वटै स्थानीय तहका मगर समुदायले आ–आफ्नो किसिमले कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएका छन् । दिवसमा माथागढी गाउँपालिका–३, सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सव गरियो । स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन भएको थियो । नेपाल मगर संघ माथागढीको आयोजना र गाउँपालिकाको सहयोगमा यहाँ कार्यक्रम भएको हो । वडाध्यक्ष तेज घर्तीमगरले मगरी समुदायभित्र रहेका केही सांस्कृतिक विकृतिलाई हटाउँदै मौलिकताको जर्गेना र संस्कृतिक संरक्षण गर्न महोत्सव गरिएको बताए । रामपुरमा पनि एकीकृत मगर उत्थान समाजले विविध सांस्कृतिक कार्यक्रम गर्यो । मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यका साथ दिवस मनाइएको छ ।

मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकीको प्रर्दशन गरियो थियो । यहाँका अन्य पालिकामा समेत भव्य रुपमा विविध सांस्कृतिक कार्यक्रमहरु भए । जहाँ मगरी भेषभुुषा, खानाका परिकारसँगै सांस्कृतिक कार्यक्रम समेत भए । यहाँका हरेक सडकमा निस्किदा सबै मगर पहिरनमा सजिएका व्यक्तिहरु मात्र भेटिन्थे । सबैजना मौलिक पहिरनमा चिटिक्क । पहिरनमा तानसेनस्थित श्रीनगरडाँडामा भेटिएकी तानसेनकी शर्मिला मगरले आफ्नो जातिय पहिरनमा सजिन पाउँदा खुसी लागेको बताइन् । ‘यो हामी मगर जातिलाई चिनाउने आफ्नो पोशाक र चिनारी हो, बिर्सनु त भएन नि । अनि पो संस्कृति बाँचिरहन्छ ।’ उनले भनिन् । मगरले अरू बेला साधारण पोशाक लगाए पनि आफुले चाडपर्व, मेला महोत्सव,शुभकार्य या जमघटका बेला मगर पहिरन नै लगाउने गरेको सुनाइन् ।

यस्तै माथागढीकी मनिषा आलेले पनि सराईमा भएको सांस्कृतिक महोत्सवमा चिटिक्क मगरी परिहनमा देखिइन । उनले आफ्नो संस्कृतिलाई बचाई राख्न उत्सवको अवसरमा पोशाक लगाएको बताइन् । यहाँ दिनभर मगरहरुको उत्सव नै चल्यो । कार्यक्रममा उपस्थित मध्ये धेरै आफ्नै पोशाक, चालचलन र शैलीमा देखिन्थे । कोही फोटो खिच्नमा त कोही नाचगान हेर्नमै मस्त थिए । आपसमा रमाइरहेका थिए । कार्यक्रममा मगर समुदायको भेषभूषा तथा झाँकी गीत र नृत्यले दिवसलाई रौनकता थपे । एक अर्कामा शुभकामना सांटेर मगरहरुले एकता दिवस मनाए । लखन थापालाई समेत उनिहरुले सम्झना गरे । दिवससँगै भाषा र संस्कृति संरक्षणका लागि सबै जागरुक हुने बेला आएको उनीहरुको भनाई थियो । यहाँका तानसेन, रामपुर, माथागढी, तिनाउ, रिब्दीकोट, रैनादेवी हछरा, बगनासकाली, रम्भा, निस्दी, पूर्वखोला लगायतका पालिकाहरुमा भव्य कार्यक्रमहरु भए । दिवस मनाइरहेकै बेला मगरको भेषभूषा संस्कृतिलाई झल्काउने पोशाकमा सहभागी भएका मगर समुदायका व्यक्तिहरु निकै नै उत्साहित देखिएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update