Shittalpati
रिहा भए पल शाह

पाल्पा, कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाह कारागारमुक्त भएका हुन् ।

जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका शाह अदालतको फैसलाबमोजिम रिहा भएका छन् ।

बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो । सोहीबमोजिम उनी रिहा भएका हुन् ।

कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध शाहले सफाइ दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो । तनहुँ अदालतले शाहलाई गत माघ ३ मा सफाइ दिएको थियो  । उच्च अदालतको फैसलामा नवलपुर जिल्ला अदालतको उक्त फैसला उल्टी भई पल शाहले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update