Shittalpati
आज तानसेनमा चीर ठड्याइँदै

सीमा भट्टराई
पाल्पा, जिल्लाको सदरमुुकाम तानसेनमा आज चीर ठड्याइँदै छ । लामो समयपछि तानसेनको टक्सारटोलस्थित गणेश मन्दिर परिसरमा चीर ठड्याउन लागिएको हो ।

तानसेन भजन संरक्षण समिति र देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानको सक्रियतामा चीर ठड्याउन लागिएको प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले बताए । उनका अनुसार म्यालको लिंयो लिनका लागि दिउँसो ३ बजे बनदेवी प्रस्थान गरिने छ । भजनकृर्तनसँगै लिंयो लिन जाने परम्परा रहेको देउरालीले बताए । लिंयो लिएर आएपछि मात्र चीर ठड्याइने छ । होली पर्वको सुुरुवात चीर ठड्याएर गर्ने गरिन्छ । पहिले–पहिले तानसेनको शितलपाटी, भिमसेनटोल, बसन्तपुर, टक्सारटोल लगायतका स्थानहरुमा चीर ठड्याइने गरे पनि आर्थिक अभाव र पुराना पुस्ताहरुको मृत्युु पछि विस्तारै हराउँदै गएको छ । चीर ठड्याएसँगै मुलुकभर होली पर्व सुरु हुने गर्दछ । प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ ।

वसन्त ऋतुको स्वागतसँगै यो साताव्यापी खेल्ने चलन छ । वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै, नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ हुन्छ । होली पर्व मनाउने सम्बन्धमा धार्मिक ग्रन्थमा हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रहलादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रहलादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । भने फाल्गुण शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर जलाउने परम्परा रहेको लोक कथन छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update