Shittalpati
कोइरालाको ‘तीर्थ यात्रा’ कृति लोकार्पण

पाल्पा, शिवप्रसाद कोइरालाद्वारा लिखित ‘तीर्थ यात्रा’ (धार्मिक नियात्रा संग्रह) कृतिको लोकार्पण गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले एक औपचारिक कार्यक्रमका बीच तानसेनमा उक्त कृतिको विमोचन गरेको हो ।

प्रमुख अतिथि पाल्पा भजन समितिका अध्यक्ष मंगलप्रसाद बज्राचार्य, समाजका अध्यक्ष पुुष्करराज रेग्मी, तानसेन नगरपालिका– ३ का वडाध्यक्ष बाबुरत्न शाक्य, पार्वती कोइराला, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् । कृतिको विमोचन गर्दै प्रमुख अतिथि बज्राचार्यले नेपाली साहित्यको क्षेत्रमा कृतिले एउटा इटा थप्ने काम गरेको बताए । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले पाल्पा साहित्य समाजले साहित्य क्षेत्रमा लाग्न चाहनेहरुका लागि सहजीकरण गर्ने काम गर्दै आएको बताए ।

कार्यक्रममा तानसेन नगरपालिका –३ का वडाध्यक्ष बाबुरत्न शाक्य, शिक्षाविद् मीनबहादुर केसी, कमल कोइराला, प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष रामप्रसाद अर्याल लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरे । कृतिको समीक्षक दामोदर नेपालले गरेका थिए । कृतिले धार्मिक विषयलाई उठान गरेको उनले बताए । नेपाली समाजको एउटा महत्वपूर्ण पक्ष धार्मिक सांस्कृतिक विषयमा केन्द्रित रहेकाले कृति महत्वपूर्ण रहेको समिक्षक नेपालले बताए । नौवटा लेख भएको उक्त कृतिको ७७ पृष्ठ रहेको छ । सोही अवसरमा लेखक शिवप्रसाद कोइराला र उनकी धर्मपत्नी पार्वती कोइरालालाई सम्मान समेत गरिएको थियो । समाजका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, सदस्य गोविन्द खनालको स्वागत, सदस्य इन्दिरा ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update