Shittalpati
माथागढीमा भव्य रुपमा मगर दिवस मनाइँदै, स्थानीय सरकारले दियो सार्वजनिक विदा

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको सराईमा भव्य रुपमा ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइने भएको छ । यही फागुन १५ गते नेपाल मगर संघ माथागढी गाउँपालिकाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउन लागिएको हो ।
संघले बुधबार तानसेनमा पत्रकार सम्मेलन गरी मगर समुदायको बाहुल्यता रहेको माथागढीमा मगरी खानाका परिकारसँगै मगरको पहिचान झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम गरिने बताएको छ । संघका जिल्ला अध्यक्ष तथा माथागढी गाउँपालिका–३ का वडाध्यक्ष तेज घर्तीले मगर समुदायको मौलिक कला संस्कृति र पहिचानको प्रचार–प्रसार गर्ने र संरक्षण गर्ने उद्देश्यले मगर दिवसका दिन भव्य रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले मगर जातीको भाष, संस्कृति बचाई राख्नका लागि कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सचेतनाका झाकी,  र्‍याली निकालिनुको साथै मगरी विभिन्न खानाका परिकारहरुको प्रदर्शनी समेत रहने अध्यक्ष घर्तीले बताए ।

दिवसका दिन गाउँपालिकाले समेत सार्वजनिक विदा दिएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघ माथागढी गाउँपालिकाका अध्यक्ष शंकर दर्लामीले बताए । कार्यक्रमलाई सभ्य र मर्यादित बनाउने दिशामा सबैले साथ दिन कार्यक्रम संयोजक मानबहादुर रानाले सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update