Shittalpati
लोकवार्ता सम्मेलन

हाम्रा संवाददाता
पाल्पा, पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लोकवार्ता परिषद् नेपालको आयोजनामा यी जिल्लामा ११ औँ लोकवार्ता सम्मेलन चलेको हो । पाल्पामा शनिबार र आइतबार सम्मेलन गरिएको छ भने गुल्मीमा सोमबार र मंगलबार सम्मेलन हुँदैछ । यस्तै बुधबार र बिहीबार अर्घाखाँचीमा सम्मेलन चल्ने छ । तीन जिल्लाको सदरमुकाममा भइरहेको सम्मेलन विभिन्न संघसंस्थाहरूको संयोजन र लोकवार्ता परिषद् नेपालको आयोजनमा चलिरहेको हो ।

फागुन ६ देखि ११ गतेसम्म सम्मेलन चल्ने छ । सम्मेलनमा सांस्कृतिक सभ्यताको पहिचान, लोक (जनता) सँगको वार्ता, परम्परागत कुराहरूको पहिचान, वर्तमान विषयवस्तुको छलफल, साहित्यिक क्षेत्रको संरक्षण र ऐतिहासिक विमर्श हुने गर्दछ । त्रिभुवन बहुमुखी क्याम्पसको संयोजनमा तानसेनमा सम्मेलन भएको थियो । तानसेनमा भएको सम्मेलनलाई सफल बनाउन तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र रिब्दीकोट गाउँपालिका, पाल्पा बाँसटारी ढाकाटोपी उद्योग, ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा, पौडेल ढाका उद्योग पाल्पाले सहयोग गरेका छन् ।

सम्मेलनमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कतिपय लोक संस्कृति लोप हुने अवस्थामा रहेकाले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताए । ‘हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ’, उनले भने, ‘लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।’ उनले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताए । आज गुल्मीको तम्घासमा किरण पुस्तकालयको संयोजनमा सम्मेलन हुँदैछ । सोमबार गुल्मीको रिडीमा भएको थियो ।

जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यका लोकवार्ता सम्मेलन गर्न लागिएको जिल्ला संयोजक शसी पन्थीले बताए । उनका अनुसार सम्मेलनमा लोकवार्ता, इतिहास, पुरातत्व, भाषा, साहित्य, कला संस्कृति, परम्परा, गित संगीत, मान्यता, रहन–सहन, रीतिरिजाव, प्रविधि, शैली र लोकजीवनको समग्रताको विमर्श गरिने छ । यस्तै अर्घाखाँचीको सन्धिखर्कमा पाणिनी बहुमुखी क्याम्पसको संयोजनमा सम्मेलन हुँदैछ ।

स्थानीय तथा राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र प्रर्वद्धन गर्नु मुख्य उद्देश्य रहेको लोकवार्ता परिषद् नेपालका प्राध्यापक डा. प्रेमकुमार खत्रीले जानकारी दिए । ‘लोकवार्ता सम्बन्धीका सबै पक्षसँग नजिक रहेर छलफल गछौँ’, उनले भने, ‘पाल्पा, गुल्मी र अर्घाखाँचीको थप प्रचारमा टेवा पुग्नेछ ।’ उनका अनुसार प्रत्येक वर्ष यसरी नै फरक फरक जिल्लालाई समेट्ने गरी लोकवार्ताको सम्मेलन हुन्छ । सम्मेलनले विभिन्न ऐतिहासिक, धार्मिक, भौगोलिक, प्राकृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रवद्र्धननमा सहयोग पुग्नेछ । नेपालका ७७ वटै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update