Shittalpati
‘कृष्ण’ उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार

पाल्पा, ‘कृष्ण’ उपन्यासलाई यस वर्षको रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यासलाई रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ प्रदान गर्ने निर्णय गरेको हो ।

‘कृष्ण’उपन्यास श्रीमद्भागवत महापुराण र महाभारतको कथामा आधारित मिथकीय पुनर्सिजन हो । २०७८ सालमा प्रकाशित यो पुस्तक ५ सय ६८ पृष्ठको छ । यस पुस्तकले उत्कृष्ट कृतिका रुपमा रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार, धवल कृति पुरस्कार, सकला सिद्धार्थ बाङ्मय पुरस्कार तथा विष्णुदास यज्ञ साहित्य पुरस्कार गरी चार पुरस्कार प्राप्त गरेको छ । रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार हालसम्म बाइसपटक प्रदान गरिएको छ । कहिले एक्लो कृतिलाई त कहिले कृतिहरुलाई संयुक्त रुपमा प्रदान गरिएको यस पुरस्कारबाट हालसम्म पचास जना स्रष्टाका कृतिहरू पुरस्कृत भएका छन् । यस पुरस्कारको राशी पचास हजार रहेको छ ।

पुरस्कार फागुन ११ गते प्रदान गरिने गुठीले जनाएको छ । बाग्लुङ निवासी प्रेम छोटाले आफ्नी ममतामयी माता रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा स्थापना गरेको रत्न श्रेष्ठ पुरस्कार हो । यो पुरस्कार प्रारम्भमा धौलागिरी अञ्चलका स्रष्टाद्वारा लेखिएको उत्कृष्ट कृतिलाई प्रदान गरिएकोमा अहिले यसलाई राष्ट्रियस्तरको बनाइएको छ । सुरुमा प्रत्येक तीन/तीन वर्षमा प्रदान गरिँदै आएको यो पुरस्कार २०४९ सालदेखि भने दुई/दुई वर्षमा प्रदान गरिँदै आइएको गुठीले जनाएको छ । यस्तै गुठीले अन्य पाँचवटा पुरस्कार समेत स्थापना गरेको छ । यस वर्ष २५ हजार राशीको रत्न श्रेष्ठ प्रादेशिक पुरस्कार दाङका सूर्यनाथ सापकोटाको जागिर बाहिर (संस्मरण) र बाग्लुङका सरोजराज पन्तको नसुल्झिएको प्रेम (खण्डकाव्य) लाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

त्यसैगरी १५ हजार राशीको रत्न श्रेष्ठ धौलागिरी प्रतिभा पुरस्कार म्याग्दीका कृष्ण बानियाको विसंगत अभिरुचि (संस्मरण)लाई प्रदान गर्ने भएको छ । सन्तु श्रेष्ठले आफ्ना मातापिताको नाममा स्थापना गरेको २५ हजार राशीको सन्तुल जगतचन्द्र राष्ट्रिय स्मृति पुरस्कार ललितपुरकी श्रीमती रुकु कार्कीको जीवनका विविध आयाम (निबन्ध) लाई प्रदान गर्ने भएको छ । त्यसैगरी संस्थालाई र उत्कृष्ट विद्यार्थीलाई पालैपालो प्रदान गर्ने गरी स्थापना भएको १२ हजार राशीको गुरुगणेश विष्णु स्मृति उत्कृष्ट पुरस्कार त्रिपुरेश्वर परमानन्द सन्यास आश्रम रामकोट ब्यूह बाग्लुङमा अध्ययनरत बुटवलका छात्र शुभम पन्तलाई प्रदान गरिने भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update