Shittalpati
आज महाशिवरात्रि पर्व, भगवान् शिवको पूजा–आराधना गरिदैं

शर्मिला थापा, पाल्पा, आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर महाशिवरात्रि पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन देशभरका शिवालय मन्दिरहरुमा विहानैदेखि भक्तजनको घुईंचो लाग्ने गर्दछ । विशेषतः काठमाडौंको पशुपतिनाथ शैवमार्गी,पाल्पाको सिद्धबाबा मन्दिर लगायतका शिवालय मन्दिरहरुमा भक्तजनहरु पुुग्ने गर्दछन् ।

पशुुपतिनाथ हिन्दूका लागि एकमात्र शिवलोकका रुपमा प्रसिद्ध छ । प्राचीन कालदेखि नै शैवधर्मको केन्द्र मानिने नेपालमा महाशिवरात्रिका अवसरमा विशेषगरी भारतबाट आउने साधुसन्तका कारण पनि पशुपतिनाथ मन्दिर परिसर निकै रमणीय बन्ने गरेको छ ।

यस्तै पाल्पाको धार्मिक एवं पर्यटकीयस्थल सिद्धबाबा मन्दिरमा पनि भक्तजनहरूको भीड लाग्ने गर्दछ । पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ स्थित सिद्धबाबा मन्दिर पाल्पा र रुपन्देहीको बुटवलको सीमा क्षेत्रमा पर्ने भएकाले रुपन्देही, पाल्पाका दर्शनार्थीहरूको बढी भीड लाग्ने गर्छ । दुइटा जिल्लाको सीमाक्षेत्रमा पर्ने सिद्धबाबा मन्दिर माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरका नामबाट यसक्षेत्रमा प्रख्यात छ । भौगौलिक रूपले अत्यन्त अप्ठ्यारो र भिरमा रहेकोले पनि यो सिद्धबाबा मन्दिरलाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्था र महत्वका साथ लिने गर्दछन् । हरेक दिन पूजाआजा हुने यस मन्दिरमा महाशिवरात्रिमा समेत विशेष पूजा हुने गर्दछ ।

हिन्दू संस्कृतिमा कालरात्रि, सुखरात्री, मोहरात्रि र शिवरात्रि जस्ता चार रात्रि प्रख्यात छन् । कसैले भगवान शिवको जन्म भएकाले आराधना गर्ने गरेको मान्ने गर्छन् भने कसैले शिवरात्रिको दिन भगवान शिवको पार्वतीसँग विवाह भएको विश्वास गर्छन् । यो दिन भगवान शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रुपमा धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ । भगवान शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने किंवदन्ती छ । शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पुकार्ने गरिन्छ । कतै–कतै भगवान शिवलाई प्रसन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा आदिको सेवन गर्ने चलन छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगलमय कामना गर्छन् ।

 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update