Shittalpati
सोमबार देशभर सार्वजनिक बिदा

पाल्पा, सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ ।

२०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो । गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । सो सशस्त्र युद्ध को नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ । यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update