पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्व शर्माले जिल्लाको शान्ति सुरक्षाका कुुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पामा सरुवा भई आएका शर्माले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबूद बनाउने बताएका हुन् ।
जिल्लाको शान्ति सुरक्षामा कुनै कमी आउने छैन, उनले भने , ‘जिल्लाको प्रमुख समस्यालाई पहिचान गरी सरोकारवालाहरुसँगको छलफल र समन्वयमा काम गर्छु ।’ उनले कसैको दबाव र प्रभावमा प्रहरी नपर्ने भन्दै पीडितलाई न्याय दिलाउन आफू लागि पर्ने बताए ।
पत्रकारहरुसँग कुरा गर्दै एसपी शर्माले भने, ‘प्रहरी र पत्रकारबीच पेशागत सम्बन्ध कायम राख्न सधै प्रतिवद्ध छु ।’ उपरीक्षक शर्माले शान्ति सुरक्षा र जनताका हरेक क्रियाकलाप आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने, सुुरक्षा गस्तीलाई पनि प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जिल्लाका हरेक घटनाबारे जानकारी दिने कार्यलाई अझै प्रभावकारी बनाउन आफुुहरु थप सक्रिय भएर लाग्ने बताएका छन् ।
जिल्लाको शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा प्रहरी संवेदनशिल बन्न पत्रकारहरुले सुुझाव दिएका छन् । यस अघिका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाही तालुक काठमाडांै उपत्यका प्रहरी कार्यालय अनवेषण योजना तथा विकास शाखा काठमाडौंमा सरुवा भइ गएपछि शर्मा पाल्पा आएका हुन् ।