Shittalpati
बझाङमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु

रमेश केसी 
बझाङ, बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् । –रासस

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update