Shittalpati
वडा कार्यालयले दियो अभिभावकलाई स्वीटर बुन्ने तालिम

पाल्पा (रामपुर) । रामपुर नगरपालिका ६ वडा कार्यालयले अभिभावकहरुलाई स्वीटर बुन्ने तालिम दिएको छ । वडा कार्यालयले विद्यालयमा बाबुनानी छोड्न तथा लिन आउने अभिभावकहरुलाई व्यस्त बनाई उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यका साथ दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरमा स्वीटर बुन्ने तालिम दिएको हो ।

पछिल्लो समय प्रविधिको विकास संगै बाबुनानी छोड्न आउँदा होस् या घरको खाली समय अधिकांश अभिभावक इन्टरनेट तथा मोवाइलमा व्यस्त हुने गरेको भन्दै त्यसले बालबालिकाको सिकाईमा प्रत्यक्ष असर पार्ने भएकाले अभिभावक लक्ष्यित कार्यक्रम सुरु गरिएको वडा कार्यालयले जनाएको छ । तालिमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ । तालिममा सहभागीहरु ३० जना अभिभावकलाई प्रमाणपत्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले व्यस्तताले मानिसलाई सकारात्मक बाटोमा हिड्न सिकाउने र परिश्रम गर्ने बानीको विकास गर्ने बताइन् । उनले वडा कार्यालयले चालेको कदमको प्रशंसा गर्दै उद्यमशील बन्न चाहानेहरुका लागि नगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

वडाअध्यक्ष हुमनाथ न्यौपानेले खाली समय बिताउने अभिभावकहरुलाई सिर्जनशिल बनाउनका लागि तालिम सुरु गरिएको बताए । उनले भने, ‘वडाका २ मावि विद्यालय मध्य हामीले प्रयास स्वरुप पहिलो चरणमा दरैंठाँटी माविमा कार्यक्रम गरेका छौं । यसले अभिभावकहरुमा सकारात्मक सोंचको विकाससँगै उत्साह जगाएको छ ।’ वडा सचिव बासुदेव ढकालले वडाले आमा कार्यक्रमका लागि ५० हजार रकम विनियोजन गरेकोमा ३५ हजारले तालिम सञ्चालन गरेको र १५ हजार पोषण कार्यक्रमको लागि छुट्याईएको बताए । वडा सदस्य एवं कार्यक्रम संयोजक लोकमाया कुमालले आगामी वर्ष अन्य विद्यालयलाई समेटेर तालिम सञ्चालन गरिने बताइन्् ।
कार्यक्रममा पत्रकार इमान सिं रानाले अभिभावकहरुको समय सदुपयोगका लागि सञ्चालन गरिएको तालिम उदाहरणीय भएको भन्दै तालिमको उपयोगमा ध्यान दिन आग्रह गरे । प्रतिमा राना वाग्लेले वडा कार्यालय प्रति कृतज्ञता प्रकट गर्दै सीपको सहि उपयोग गरेर अघि बढ्ने बताइन् । तालिममा ४० वर्षमुनिका अभिभावकहरुको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक गंगा सरा रानाले सहजीकरण गरेकी थिइन् । कार्यक्रम संयोजक लोकमाया कुमालको अध्यक्षता, वडाअध्यक्ष हुमनाथ न्यौपानेको स्वागत र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update