Shittalpati
इन्टरनेटको लतमा बालबालिका

रामचन्द्र रायमाझी
पाल्पा, तीन वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै जाँदा तानसेन भगवती टोलकी अस्मिता जिसी चिन्तित छन् । तीन कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा सुुजन केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र ड्रेस नै नखोली मोवाइलमा व्यस्त हुुन्छन् । मोवाइल खोसिदिएपछि रुने र नास्ता समेत नखाइदिने गरेको आमा अस्मिता बताउँछिन् । उनी भन्छिन्,‘पहिले–पहिले पढाई राम्रो थियो,कोभिडपछि मोवाइलबाटै पढ्ने बानि बसेपछि अहिले मोवाईल नभई हुँदैन, मोवाईलमा गेम खेल्ने र युुट्युुवमा भिडियोहरु हेर्ने गर्दा पढाईमा ध्यान दिदैन ।’ छोरा खाली मोवाइलमा व्यस्त हुने, कुनै पनि काम नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धि स्वभावको हुने गरेको आमा जिसीको भनाई छ । उनी भन्छिन्, ‘बच्चाहरू पढ्दै छन् मोबाइलमा चाहिने कुराहरू नै हेर्दै होलान् भन्यो युट्युवमा विभिन्न खालका भिडियोहरू हेर्ने, गेम खेल्ने गरेका हुन्छन्, उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने र भनेकै नै मान्दैनन् ।’ आफ्ना बच्चा खाना समेत मोबाइल नभई नखाने र स्कुलबाट फर्कनासाथै मोबाइलमा नै व्यस्त हुने, मोबाइल नपाए रिसाउने गरेको अर्का अभिभावक रेनुका खत्री बताउँछिन् । उनी भन्छिन् ‘बच्चाहरू स्कुलबाट फर्केपछि डे्रस समेत चेन्ज नगरी मोबाइलमा नै व्यस्त हुन्छन्, मोबाइल नपाए रिसाउने, खाजा समेत नखाने र भनेको नमान्ने गर्छन् ।’ यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय प्रायः जसो सहरी क्षेत्रका बालबालिका इन्टरनेटको प्रयोगबाट आफ्ना गृहकार्य समयमा नगर्ने, परिवार र आफन्तहरूसँग पनि घुलमिल नहुने, जिद्दी स्वभावका हुने गरेको पाइएको छ । धेरै अभिभावक सन्तानले इन्टरनेटमा मात्रै ध्यान दिँदा हैरान छन् ।

इन्टरनेटको पहुँच नागरिकमा बढ्दै जाँदा बालबालिका विद्यालयले दिएको गृहकार्य नगर्ने र पढ्नेभन्दा मोबाइल, ल्यापटप र कम्प्युटरमा इन्टरनेट चलाउने गर्छन् । इन्टरनेटको अत्यधिक प्रयोगकै कारण कक्षामा पनि विद्यार्थी टोलाउने र पढाइमा समेत ध्यान नदिने गरेका कारण धेरै अभिभावक सन्तान लिएर मानसिक रोग विशेषज्ञसम्म पुग्ने गरेको सम्बन्धित अस्पतालहरु बताउँछन् । सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग पनि दिनानुदिन बढ्दै गइरहेको छ । इन्टरनेट प्रयोगकर्ता सचेत नहुँदा विभिन्न घटनाहरू समेत घट्ने गरेका छन् । बालबालिकाले इन्टरनेट प्रयोग गर्दा सकारात्मक भन्दा नकारात्मक असर धेरै पर्ने गरेको मनोविद्हरू बताउँछन् ।

आफ्ना बच्चाहरू इन्टरनेटको प्रयोगका कारण पढ्न, खाना खान तथा अन्य काम समेत समयमा नगर्ने गरेको अधिकांस अभिभावकहरूको गुनासो छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण शैक्षिक संस्थाहरू बन्द रहँदा भर्चुअल माध्यमबाट कक्षाहरू सञ्चालन गरिए । जुनसुकै सभा, गोष्ठी तथा अन्य भेटघाट पनि जुम प्रविधिमार्फत हुन थाले । सुरुवाती तीन–चार महिना अस्तव्यस्त रहे पनि बिस्तारै मानिसहरू प्रविधिसँग नजिकिँदै गए । त्यसको प्रत्यक्ष असर अहिले बालबालिकादेखि वयष्कसम्म देख्न थालिएको हो । अझ अचेलका आमाबुबाले ‘मेरा नानी बाबु त मोबाइल नभई भातै खाँदैनन्’ भन्दै गर्व गर्छन् । आमाबुबाले छोराछोरीलाई मोबाइलमा भिडियो देखाएर खाना ख्वाउन थालेपछि बिस्तारै उनीहरूको यसैमा लत बस्छ । ठूलो भइसक्दा पनि छोराछोरी मोबाइल नहेरी खानै नखाने अवस्थामा पुुग्ने गरेका छन् । बालबालिकालाई यस्तो कुलतबाट जोगाउन अभिभावक नै यसबाट मुक्त हुनुपर्दछ । आफूले घण्टौं फेसबुक चलाएर, छोराछोरीलाई फेसबुकमा नझुन्ड भन्न सकिन्न । बालबालिकाले खाना खाने टेबुलमा मोबाइल वर्जित गर्नुपर्छ । परिवारका सदस्यहरू बसेर रमाइला कुरा गर्दै खाना खाँदा यसले बालबालिकाको मानसिक स्वास्थ्यलाई पनि सुधार्छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update