Shittalpati
ताङ्का : जितगढी नेपाल


पुष्कर अथक रेग्मी , पाल्पा

बर्षौ अघिको
कथा जितगढीको
वीर नेपाली
गोर्खाली र पाल्पाली
देशको रखवाली

तिनाउ माथि
जागा भै दिनराती
मोर्चा कसेथे
उजिरसिं बसेथे
नुवाकोट बुटोल

बारूद गोला
राशनपानी झोला
पाल्पा चाहेथे
ठूलै सेना ल्याएथे
जनरल उडले

गढी टाकुरी
ढुङ्गा मुढा खुकुरी
आगो सल्काए
छेकबाँध भत्काए
छलियुद्ध गरेर

धेरै भो खती
हारे लौ दुइचोटी
पीठ फर्काए
व्यर्थै ज्यान घर्काए
अंग्रेजको सेनाले

बिश्व बिजेता
अंग्रेजलाई यता
सातो कढाए
नेपालीले हराए
चन्द्रसूर्य फरर

लक्ष्य ताकेर
इष्ट देवी भाकेर
लड्न गएथे
बिजयश्री भएथे
नेपालीका सपूत

वाचा अडिग
वीरताको प्रतीक
मन्दिर बन्यो
रथयात्रा नि चल्यो
पाल्पाको भगवती

बर्षौ देखिको
रगतले लेखेको
कथा सुनाएँ
संसारमा चिनाएँ
जितगढी नेपाल

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update