Shittalpati
टंक पन्थको समालोचनामा वी.पी. स्मृति

साहित्यकार टंक प्रसाद पन्थद्वारा लिखित विश्वेश्वर प्रसाद कोइराला: कृति र प्रवृति भित्र विश्वेश्वर प्रसाद कोइरालाको जीवनवृत, विश्वेश्वर प्रसाद कोइरालाको साहित्यक योगदान, विश्वेश्वरप्रसाद कोइरालाको जीवनवृत र लेखनका बीच अन्तः सम्बन्ध विश्वेश्वरप्रसाद कोइरालाका कथागत प्रवृति, मधेसतिर कथाको विश्लेषण, दोषी चस्मा कथामा विविध मनोवैज्ञानिक अवस्था, विश्वेश्वर प्रसाद कोइरालाका कथामा अभिघात मनोविज्ञान, विश्वेश्वर प्रसाद कोइरालाको औपन्यासिक प्रवृति, मोदिआइन उपन्यासको बिश्लेषण, तीन घुम्ती उपन्यासमा नारी अस्तित्व, विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा अभिघात मनोविज्ञान, विश्वेश्वर प्रसाद कोइरालाका कबितागत प्रवृति शीर्षकका समालोचनाहरु सङग्रहित रहेका छन । लुम्बिनी प्रदेश गुल्मी जिल्ला दिगाम नीवासी माता कुन्तादेवी पन्थ र पिता रुक्मांगत पन्थका सुयोग्य सुपुत्र टंक प्रसाद पन्थको जन्म वि.सं. २०२५।०५।१२ गतेका दिन भएको हो । नेपाली बिषयमा एम.ए.एम एड .उत्तीण गर्नु भएका पन्थ हाल पाल्पा तानसेनमै स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत पन्थ विभिन्न साहित्यिक संस्थाहरुमा समेत आबद्ध रहनु भएको छ । संयुक्त कविता संग्रह विमर्शका स्पर्शहरु (२०६७) कविता सङग्रह समय स्पर्श (२०७२) समय स्फोट (२०७७) र समालोचनात्मक कृति विश्वेश्वरप्रसाद कोइराला कृति र प्रवृति (२०७७) प्रकाशित भएका छन । धवलपुस्तकालय पाल्पाद्वारा प्रकाशित विश्वेश्वर प्रसाद कोइराला , कृति र प्रवृति (२०७७) समालोचनात्मक कृति महामानब वी.पि.कोइरालाप्रति चासो राख्ने व्यक्तित्व, विधार्थी ,शिक्षक, प्राध्यापक एवं स्रष्टा र द्रष्टा सबैका लागि सहयोगी र उपयोगी रहेका छ । समग्रमा कृति भित्रका लेखकिय विशेषताहरुलार्ई संक्षेपमा यसरी प्रस्तुत गर्न सकिन्छ । साहित्यकार टंकप्रसाद पन्थ विशेषताः प्रगतिशील विचारधाराका लेखक भएतापनि उँहाले समाजवादका प्रणेता नेपाली काँग्रेसका पिता महामानव बी.पी. कोइरालाको जीवनी व्यक्तित्व र कृतित्व माथि गहन अध्ययन गरी समालोचनात्मक कृति तयार पार्नुभएको छ । यसका लागि उहाँ सगर्भ साधुवादका पात्र हुनुहुन्छ । कृतिभित्र संक्षेपमा वी.पी. कोइरालाको जीवनी सङ्गृहित रहेको छ । कृति साहित्यिक भएतापनि संक्षेपमा वि.पि.को राजनैतिक व्यक्तित्व माथि समेत उजागर गरिएको छ । बिशेषत: कृतिभित्र विश्वेश्वर प्रसाद कोइरालाको साहित्यिक योगदानलाइ उच्च प्राथमिकताका साथ विश्लेषण, संश्लेषण र मुल्याङ्कन गरिएको छ । कृतिभित्रका प्रथम तीनओटा शीर्षकमा कोइरालाको जीवनवृत, साहित्यिक योगदान र जीवनवृत्त एवं लेखनका बीच अन्तः सम्बन्ध चर्चा गरिरहेको छ । त्यसपछिका पाँचओटा शीर्षकमा कोइरालाका कथाका समालोचनात्मक प्रस्तुती गरिएको छ । कोइरालाका कथाहरुलाई समालोचक पन्थद्वारा मनोविश्लेषणत्मक , यौन सचेतना, मानसिक द्वन्द्व ,सामाजिक यथार्थ ,पात्रहरुको चारित्रीकरण , व्याग्यात्मक प्रस्तुती , सीमान्तीय चेतना, साँस्कृतिक अवस्थाको प्रस्तुती, प्रतीक बिधान र भाषाशैलीगत प्रवृतिको आधारमा उठान गरिएको छ । कोइरालालाइ कवि, आत्मजीवनीकार, निवन्धकार , कथाकार र उपन्यासकारको रुपमा साहित्यिक योगदानको चर्चा गरिएको छ । कथा अन्र्तगत मधेसतिर र दोषी चश्माु को विश्लेषण गरिएको छ । यसरिनै कथाहरु चन्द्रवदन, सिपाही, मधेसतिर, होड, दोषि चश्मा, हरिदत्त , महाराजको सवारी, कर्नेलको घोडा, पवित्रा, स्कुल मास्टर, स्वेटर, बौलाहा, रिक्सा तान्ने, श्वेत भैरवि र एकरातको कथाका पात्रहरुमा निहित द्वन्द्वको अवस्थालाई अवतरित गराइएको छ । विश्वेश्वरप्रसाद कोइरालाका कथामा अभिघात मनोविज्ञान शीर्षकको समालोचनाभित्र पात्रहरुले व्यहोरेका अभिघातहरु प्रष्टाइएको छ । सामान्यतया मानिसहरुको शरिरमा हुने दुःख, कष्ट, संकट, तनाव उत्पन्न गर्ने त्रासदीपूर्ण एवं नकारात्मक घटना ,दुर्घटना ,पिडा ,दर्द, चोट , हिंसा जस्ता घातक समस्या / रोगलाइ जनाउँछ । कृति भित्र कोइरालाका चन्द्रवदन, एकरात, शत्रु , मधेसतिर , दोषि चश्मा ,कर्नेलको घोडा, पवित्रा, बौलाहा, रिक्सा तान्ने, राइटर बाजे, श्वेतभैरवी, महाराजको सवारी कथामा भएका अभिघातको मर्मलाइ सुक्ष्म विश्लेषण गरिएको छ । चारवटा समिक्षाहरु कोइरालाका उपन्यासमा केद्रित रहेका छन् ।


तीन घुम्ति (२०२५) नरेन्द्रदाइ (२०२६) सुम्निमा (२०२७) मोदिआइन (२०३६) हिटलर र यहुदी (२०४०) र आमा बाबु र छोरा (२०४५) कोइरालाका प्रकाशित उपन्यासहरु हुन् । समालोचक टंक पन्थद्धारा फ्रायडवादी चेतना, अस्तित्ववादी प्रवृति, मानवतावादप्रतिको आग्रह , दार्शनिक चेतना, मिथकीय प्रयोग, नारी अहं र अस्तित्वको स्थापना, मानसिक द्वन्द्वको प्रस्तुति, नियतिवाद तर्फको झुकाव, सांस्कृतिक आग्रह, विद्रोही चेतना अभिघात चेतना र भाषाशैलीगत आधारमा औपन्यासिक प्रवृतिको विश्लेषण गरिएको छ । यसपछि अर्काे दुइवटा शीर्षकमा मोदिआइन उपन्यासको विश्लेषण र तीन घुम्ती उपन्यासमा नारी अस्तित्व खोजिएको छ । विश्वेश्वरप्रसाद कोईरालाको उपन्यासमा अभिघात मनोविज्ञान शीर्षक भित्र तीन घुम्ती, नरेन्द्र दाई, सुम्निमा मोदिआइन, हिटलर र यहुदि बाबु आमा र छोरा उपन्यासमा निहित अभिघात विश्लेषण गरिएको छ । कोइरालाका औपन्यासिक पात्रहरु घटना, दुर्घटना र मानसिक रुपमा पिडित भएकोले अभिघात र शमनवृत्तिको प्रयोग सशक्त रुपमा भएको छ । कृतिभित्र तेह्रौ समालोचनाको रुपमा विश्वेश्वरप्रसाद कोइरालाका कवितागत प्रवृति शिर्षक रहेको छ । जसभित्र कोइरालाका केही कविताहरु बम्बइप्रति, बारीको कुरो, विष्टापुष्प, छोरि र छाया, एउटा सन्धिः एक सम्झौता, नखिचिएको तस्बिर सुन्दर, पोखरा, बादल गोलमोल, कोमलकोमल , बर्षाले पोतेको दृश्य , कोशी–कौशीकी बगरको घोचो, टाढाको कल्पना शीर्षकका कविताका बिम्ब, प्रतीक, रस र यौनिकमय मर्महरुलाइ प्रस्तुत गरिएको छ ।


पचासवटा प्रमुख सन्दर्भ सूचीको स्वाध्ययन गरी तयार पारिएको साँहित्यकार टंक प्रसाद पन्थको समालोचनात्मक कृति विश्वेश्वरप्रसाद कोइरालाः कृति र प्रवृति (२०७७) महनीय, पठनीय, मननीय, उदाहणीय, अनुसन्धानीय एवं सङ्ग्रहणीय रहेको छ । कृति भित्र समालोचक पन्थज्यूले विश्वेश्वर प्रसाद कोइरालाका कथा, उपन्यास र कविताको मात्र समालोचना सङ्गृहित गर्नु भएकोमा आगामी प्रकाशनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा , उपन्यास, कविता, समालोचना, निवन्ध, आत्मजीवनी लगायत काइरालाले कलम चलाएका विविध विधाको शोध, खोज, सोच र ओजपूर्ण समालोचनाहरु प्रकाशित हुदै जाउन भनी हार्दिक शुभकामना प्रकट गर्नुका साथै उहाँको साहित्यिक एवं प्राज्ञिक उन्नयनको कामना गर्दछु । “वास्तवमा म आफूलाई साहित्यिक सम्झन्न, मेरो क्षेत्र राजनीति हो । राजनीतिमा म अन्त : प्रेरणाले उकासिएको हुँ भने साहित्यमा ठीक विपरित । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ ।” विश्वेश्वर प्रसाद कोइरालाको क्षेत्र राजनीति प्रमुख र साहित्य गौण हो भन्ने कुरा वी.पी. को उल्लेखित आफ्नै कथनबाट स्पष्ट हुन्छ । राजनीतिमा उनी वी.पी. कोइरालाको नामले लोकप्रसिद्ध छन् भने साहित्यमा उनी विश्वेश्वर प्रसाद कोईरालाको नामले सुप्रशिद्ध छन् । साहित्यको सिर्जनामा उनी अरुको बाटो नहिडेर ब्याकरण र काव्यशैलीका रुढीका बन्धनहरु तोडेर , नियमरहित भई , परतन्त्राविहीन स्रष्टाझै भएर आफ्नैनवीन सोच, प्रविधि र शिल्पविधान दिई साहित्य सिर्जनाको मार्ग प्रशस्ति गरिदिएकोलेनै उनी नेपाली साहित्यको इतिहासमा पृथक साहित्यकारको रुपमा प्रतिष्ठापित भएका छन् ।
अन्तमा , महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा शब्द श्रद्वाञ्जली । वी.पी. कोइराला अमर रहुन् । जय नेपाल । 
(लेखक पाल्पा साहित्य समाजका अध्यक्ष हुन् )

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update