Shittalpati
यातायात व्यवस्थित गर

नेपालीहरुको घर आगनमा दसैँ, तिहार जस्ता महान पर्वहरु आइपुगेका छन् । घरभन्दा बाहिर रहेका नेपालीहरु आफ्ना मान्यजनबाट आर्शिवाद थाप्नको लागि घर फर्कर्ने क्रम सूरु भएको छ । विगतमा जसरी सडक र शहरमा दसैँको उत्साह र उमंगह रहने गथ्र्यो तर अहिले भने त्यस्तो हुन सकिरहेको छैन । विश्वभर फैलिएको कोरोना महामारीका कारण यस वर्षको दसैँमा खासै चहलपहल नदेखिएको हो । हुन त ठूलो संख्या लकडाउन अघि नै गाउँ फर्किसकेका छन्, भने केही रोजगारीका शिलशिलामा रहेकाहरु भने फर्कर्ने तरखरमा रहेका छन् । उनीहरु कोरोनाका कारण कसरी घर फर्कर्ने भन्ने चिन्तामा छन् । कोरोना कहरको संक्रमण पनि शहरकेन्द्रित हुँदै गएको वर्तमान समयमा फेरि चाडपर्वमा घर जान धेरैलाई सकस भएको छ । लामो दूरीका यातायात चल्न थाले पनि न त व्यवसायीले अग्रिम टिकट बुकिङ खोलेका छन्, न त सुरक्षाका सबै मापदण्ड अनुरूप सवारी सञ्चालन गरेका छन्, जसका कारण संक्रमण घट्नुको सट्टा झन् बढ्दै गइरहेको छ ।

सरकारले संक्रमण गाउँ–गाउँसम्म नपुर्‍याउन भन्दै सकेसम्म घर नजान आह्वान पनि गरेको छ । तर, बहुसंख्यक नागरिकको धार्मिक आस्थासँग जोडिएको सामाजिक पर्व भएकाले न त सरकारले जबर्जस्ती रोक्न सक्छ, न त नागरिकहरू वर्षमा एकपल्ट घर जाने समयको सदुपयोग गर्न छोड्छन् । त्यसैले सुरक्षा तथा सावधानीका सम्पूर्ण मापदण्ड अपनाएर कडाइका साथ सवारी सञ्चालन गर्नुको कुनै विकल्प छैन । तर यातायात व्यवसायीहरूले भाडा पनि बढाउने तथा सवारी साधनभरि यात्रु पनि हाल्ने गर्न थालेपछि भने यात्रा महँगो त भयो नै, कोरोना संक्रमण विस्तार हुने देखिन्छ । सरकारले कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न र सार्वजनिक यातायात सेवा सहज, सुलभ, सुरक्षित र भरपर्दो एवम् प्रविधिमैत्री बनाउन अनलाइन टिकट खरिद विक्री प्रणालीलाई व्यवस्थापन गर्न खोजे पनि चाडपर्वको बेलामा हुने अव्यवस्थित यात्रालाई अनुगमन तथा नियमन गर्न अत्यन्त आवश्यक छ । अहिले अधिकांश सवारी साधनले सिटमा डबल यात्रु राखेको र गाडीका सहचालक अथवा पैसा उठाउने कर्मचारीले गतिलो ढंगले मास्क लगाएको पाइँदैन । कोरोना महामारीको सबैभन्दा घातक साधन सार्वजनिक सवारी साधन रहेको छ । यहाँबाट थप संक्रमण फैलिने डर छ । तसर्थ यस्तो अवस्थामा स्वास्थ्य मापदण्ड अपनाई यातायातलाई व्यवस्थित बनाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update