Shittalpati
खेलकुद पत्रकार दिवसको सान्दर्भिकता

हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । यस वषएको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआइपिस) स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ । खास गरी यो दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो । सबै खेल सम्बन्धित समाचार र घटनाहरू क्रमशः खेल पत्रकारहरुले कभर गरेको इतिहास छ । अहिले आएर डिजिटल युगमा खेलकुद पत्रकारिताको गति र माग निकै बढेको छ । यो सकारात्मक पक्ष हो तर यस्ता प्रतिस्पर्धात्मक समाचारहरू कभर गर्न ठूलो सीप र विशेषज्ञता चाहिन्छ । त्यो भने छैन । दिवस खेलकुद पत्रकारहरुलाई सम्मान गर्न र उनीहरुको कडा परिश्रमको कदर गर्न पहल गर्नु हो । तर त्यो हुन सकिरहेको छैन ।

शान्तिका लागि खेल महत्वपूर्ण छ । सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ । सरकारले खेल दिवसका लागि ठूलो मात्रमा बजेट विनियोजन गरे पनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन । नेपाली खेलकुदले आफ्नो सफलतामा गर्व गर्न सक्ने क्षण पटक्कै नआएको भने होइन ।

तर, यस्ता क्षणको साक्षी बन्न पाउने सुखद अवसर आम नेपाली खेल समर्थकले निकै कममात्र पाएका छन् । खेलकुद पत्रकारिता आमपत्रकारिताका अन्य विधा जस्तो सामाजिक अभियान वा सामाजिक उत्तरदायित्वले डो¥याउने पत्रकारिता नभएका कारण यसको विकास पनि त्यही रुपमा अगाडि बढेको भेटिन्छ । खेल पत्रकारिताका लागि खेल गतिविधि हुन जरुरी छ । खेल गतिविधि बिना खेल पत्रकारिता असम्भव प्रायः नै छ । पत्रकारिता आफैमा एक चुनौतीपूर्ण पेशा हो । त्यसमा पनि खेल पत्रकारिताका लागि विशेष किसिमको क्षमता र अवस्था आवश्यक हुन्छ । एक्सन ओरिएन्टेड पत्रकारिता हुने भएका कारण खेल पत्रकारिता बचाउन र विकास गर्न खेलकुदकै विकास गर्न आवश्यक छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने खेलकुद पत्रकारिता दिवसको सान्दर्भिकता देखिन्छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update