Shittalpati
पाल्पामा सडक अतिक्रमित घरटहरा भत्काउन थालियो

हाम्रा संवाददाता
पाल्पा ,जिल्लामा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकमा अतिक्रमण गरिए बनाइएका संरचनाहरु भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु विहीबारदेखि भत्काउन शुरु गरेको हो । डिभिजन कार्यालयले विगतमा कार्यालय सञ्चालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काउन कार्यको सुरुवात गरेको छ । पहिलो दिन कार्यालयले बर्तुङ्गदेखी राईडाँडासम्मका भौतिक संरचना हटाएको छ । सडक विभागको स्वीकृतिबिनै राजमार्ग (सिद्धार्थ राजमार्ग) तथा सहायक मार्ग (तानसेन–रिडी सडकखण्ड) मा बनाइएका संरचनाले सडक आवागमनमा बाधा पुगेको भन्दै तत्काल त्यस्ता संरचना हटाउन सडक कार्यालयले घरधनीहरुलाई आग्रह गर्दै आएको थियो । पटक–पटक सूचना जारी गर्दा समेत घरधनीहरुले अतिक्रमित संरचना नहटाएपछी सडक कार्यालयले डोजरको प्रयोग गरी स्थायी तथा अस्थायी भौतिक संरचना हटाउन थालेको जनाएको छ ।

पहिलो चरणमा सिद्धार्थ राजमार्गको राम्दी देखी चिडियाखोला सम्मका अतिक्रमित भौतिक संरचना हटाउने र दोस्रो चरणामा तानसेन–तम्घास सडक खण्डका अतिक्रमित हटाउने गरी काय अगाडि बढेको डिभिजन सडक कार्यालयका ईञ्जिनियर राम पियारी चौधरीले बताए । सडकसँग जोडिने प्रवेशमार्ग, घरटहरा, होर्डिङ्बोर्ड, आइल्याण्ड, शालिक, यात्रु प्रतिक्षालय, देवालय, मठ मन्दिर, पेट्रोल/डिजेल पम्प, ग्यास फिलिङ् स्टेसन तथा डम्पिङ्ग गरिएका निर्माण सामग्री समेत हटाउन सडक डिभिजन कार्यालयले यस अघि नै सूचना जारी गरेको थियो । सडक कार्यालयले पहिलो चरणमा सडक ऐन २०३१ अनुसार सडक सिमा अतिक्रमण गरिएका अस्थायी तथा स्थायी भौतिक संरचना हटाउने सार्वजनिक सूचना जारी गर्‍यो, दोस्रो चरणमा सडक सिमा भित्र अतिक्रम भएका संरचना आफै हटाउन ७ दिने सार्वजनिक सूचना जारी गर्‍यो, तेस्रो पटक घरधनी स्वयमले सडक सिमा भित्र बनाएका संरचना नहटाए कार्यालयले आफै भत्काउने सो संरचना भत्काउने र क्षतीपुर्ति भराउने सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार कसैले पनि अतिक्रम गरेका भौतिक संरचना आफै नहटाएपछी कार्यालयले डोजर लगाएर संरचना भत्काउन शुरु गरिएको जनाएको छ । डिभिजन सडक कार्यालयले सिद्धार्थ राजमार्गको पाल्पा चिडियाखोला देखी राम्दीसम्म सडक सिमा अतिक्रमण गरी बनाएका ७ सय घरमा हटाउने गरी रातो चिन्ह लगाएको थियो ।


सिद्धार्थ राजमार्गको बुटवल देखी पोखरासम्म दुई लेनको पूर्ण डेडिकेटेट सडक निर्माण गर्ने डिपिआर तयार भएकाले सोही अनुसार अतिक्रमित सडक क्षेत्र खाली गर्न डिभिजन सडक कार्यालय सक्रिय भएर लागेको छ । सिद्धार्थ राजमार्गको दाँया बाँया २५–२५ मिटर र तानसेन–रिडी सडकखण्डको सडकदेखि १५–१५ मिटर सडकको क्षेत्राधिकार पर्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update