Shittalpati
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडा बारे मलाई राम्रोसँग थाहा छ,’ राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान समेत रहेका सदस्य खड्काले भने, ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु ।  सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ ।’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् । खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउँदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा केहि गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्को नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउँदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसँग अनुरोध गरे । खड्कालाई गत असोज २९ गतेको मन्त्रीपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update