Shittalpati
म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ

काठमाडौं । माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान ह्यारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् । माइकोनोसमा प्रहरीसँग कथितरुपमा भएको झगडापछि ‘तीन विदेशी’लाई पक्राउ गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । यता, म्याग्वायरका वकिल कोन्सटान्टिनो डारिभासले भने सबै आरोपहरु अस्वीकार गर्दै शनिबार बिना कुनै मुद्दा उनले सफाइ पाउने आशा व्यक्त गरे । सन् २०१९ को अगस्तमा म्याग्वायर डिफेन्डरको लागि विश्व कीर्तिमानी ८ करोड पाउन्डमा लेस्टर सिटीबाट युनाइटेडसँग आवद्ध भएका हुन् ।

‘माइकोनोसमा ह्यारी संलग्न भएको कथित घटनाबारे क्लब जानकार रहेको छ’, युनाइटेडले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘क्लब ह्यारीको सम्पर्कमा रहेको छ र उनले ग्रीक अधिकारीहरुलाई आवश्यक सहयोग गरिरहेका छन् ।’ ग्रीक प्रहरीका अनुसार एक बारमा दुई समूहबीच भएको झगडा छुट्याउन उनीहरु त्यहाँ पुगेका थिए । त्यहाँ उपस्थित तीन विदेशी पर्यटकले प्रहरीमाथि अपशब्द प्रयोग गर्नुका साथै एक प्रहरीमाथि भौतिक आक्रमण गरेको आरोप छ । उनीहरुले मुद्दा नचलाउनका लागि घुस दिने प्रयास गरेको पनि प्रहरीले बताएका छन् । प्रहरीका अनुसार उनीमाथि प्रहरी अधिकारीमाथि हिंसा, अवज्ञा, शारीरिक हानी, अपमान र घुसको प्रयासको आरोप दर्ता गरिएको छ । म्याग्वायर माथि के आरोप लगाइएको छ भन्ने खुलेको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update