Shittalpati
सिरी ए को खेल तालिका सार्वजनिक

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको इटालीयन सिरी ए अन्तर्गत यस सिजन बाँकी रहेका खेलको तालिका सार्वजनिक भएको छ । लिग अगष्ट पहिलो साता सकाउने तयारी छ । कोरोना महामारीपछि सिरी ए यही जुन २० देखि फेरि शुरु हुँदैछ । इटालियन फुटबल फेडेरेसनले सोमबार सिजनको बाँकी खेल तालिका तय गरेको हो । जसअनुसार जुन २० मा दुई खेल हुँदैछ । २५औं चरणका चार खेल बाँकी रहेकोले शुरुमा त्यो खेलहरु सकाइनेछ ।

त्यसपछि दैनिकजसो सिरी ए मा खेल हुनेछ । पहिलो दिन टोरिनो र पार्मा तथा हेलास भेरोना क्याग्लिएरिबीच खेल हुनेछ । यस्तै जुन २१ मा एटलान्टा र ससुलो तथा इन्टर र साम्पडोरियाबीच खेल हुनेछ । यी चार खेलबाहेक सिरी ए मा अझै १२ चरणको खेल बाँकी छ । जुन २२ देखि २६ औं चरणका खेलहरु शुरु हुनेछन् । जुन २२ मा लिग लिडर युभेन्ट्स र बोलोग्नाको खेलसहित ३ खेल हुनेछ । युभेन्ट्सभन्दा एक अंकले मात्र पछि रहेको लाजियोले दुई दिनपछि एटलान्टासँग खेल्नेछ । यस्तै यस सिजनको महत्वपूर्ण र उपाधि छिनोफानो हुन सक्ने खेलको रुपमा रहेको युभेन्ट्स र लाजियोबीचको खेल जुलाई २० मा हुने तय छ ।निक

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update