Shittalpati
संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने

पाल्पा, सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको छ ।

निर्वाचन आयोगले एक महिनाअघि नै १ सय २० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो । मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते नै प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाएका थिए ।

सरकारले संघ र प्रदेशको निर्वाचन एकै चरणमा घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी समेत भएको छ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अगाडि बढाउन लागेको छ । झण्डै १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना खुल्ने सम्भावना छ । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना भएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update