Shittalpati
जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

रामपुर । व्यावसायिक रुपमा कुरिलो खेती गरेका पाल्पाका जीवलाल घिमिरेलाई लकडाउनको समय कुरिलो टिप्दै बेच्ने गर्दैमा ठीक्क छ । उनी एक दिन बिराएर १५ किलोसम्म कुरिलो टिपेर बेच्ने गर्छन् । ‘लकडाउन भएपछि घरमै कुरिलो खरीद गर्न धेरै आउँछन् लकडाउनले कुरिलोको माग बढ्यो, पुर्‍याउनै समस्या भइरहेको छ’, उनले भने । उनले गत फागुन २८ गतेदेखि हालसम्म एक लाख एक हजारको कुरिलो बिक्री गरिसकेका छन् ।

बन्दाबन्दीको समय भएकाले बगनासकाली आसपासका क्षेत्रबाट मानिसले घरमै आएर कुरिलो लैजाने गरेपछि नियमित ग्राहकसमक्ष पुर्‍याउन नसकिएको घिमिरेको भनाइ छ । बन्दाबन्दीको समय लम्बिँदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यावसायिक रुपमा जिल्लाको बगनासकाली– ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यावसायिक खेती गरिँदै आएको छ । घिमिरेले कुरिलोको माग अहिले ह्वात्तै बढेपछि बेमौसमी याम (मङ्सिर, पुस र माघ) मा उत्पादन लिनका लागि दुई सय बिरुवा टनेलमा लगाएका छन् । साढे तीन रोपनी क्षेत्रफलमा कुरिलो लगाएका घिमिरेले बजारमा हाल प्रतिकिलो चार सयमा बिक्री गर्छन् ।

अर्को कृषक केशवमणि बस्यालले कुरिलोको माग अहिले बढेपछि एक सय विरुवा थप गरेका छन् । उनले परीक्षणका रुपमा लगाइएको ९० बोटबाट उत्पादन राम्रो र माग धेरै भएपछि विरुवा बढाएका हुन् । यहाँ उत्पादित कुरिलोको बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरेको भनाई छ । उनी फाइदा हुने भएपछि जेटिएको जागिर छाडेर कुरिलोको व्यावसायिक खेतीमा लागेकी हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा मागमा आधारित व्यावसायिक कुरिलो विस्तारका लागि तालिम, वीउवितरण जस्ता कार्यक्रम गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउन्छन् । उनका अनुसार गाउँपालिकाका सबैजसो ठाउँमा कृषकले थोरैथोरै भए पनि कुरिलो लगाएका छन् ।

बिक्रीका लागि व्यावसायिक खेती गर्ने कृषक भने करीब छ जना छन् । जिल्लामै कुरिलोको व्यावसायिक खेती बगनासकालीको बराङदी क्षेत्रमा मात्र भएको छ । जिल्लाका अन्य स्थानमा पछिल्लो समय घरायसी प्रयोजन र सोंखका लागि पनि कुरिलो लगाउने गरिएको कृषिज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउन्छन् । मागमा आधारित कार्यक्रमअन्तर्गत अनुदान दिनलिनका लागि एक कृषकले कम्तीमा २० रोपनी क्षेत्रफलमा खेती गरेको हुनुपर्ने उनको भनाई छ ।  - रासस

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update