Shittalpati
प्रदेश पाँचमै मुद्दा फर्छयौटमा उत्कृष्ट गुल्मी

रमेश विश्वकर्मा
गुल्मी, गुल्मी जिल्ला अदालत यस पटक प्रदेश पाँच अन्तर्गत सबै भन्दा बढी मुद्दा फर्छयौट गर्ने उत्कृष्ट जिल्लाको रुपमा रहेको छ । वार्षिक रुपमा फैसला गर्नुपर्ने ३ सय ५५ वटा मुद्दाहरु मध्य गत पुस मसान्तसम्म १ सय ५२ थान फर्छयौट गर्नुपर्नेमा गुल्मी जिल्ला अदालतले १ सय ५८ वटा मुद्दा फर्छयौट गरेको छ 

। फर्छयौट गरिएका मुद्दाहरुमा यस पटक लक्ष्य भन्दा ६ थान बढी मुद्दा फर्छयौट गरी लक्ष्यभन्दा बढी मुद्दा फर्छयौट गरेको जिल्ला न्यायाधिश कृष्णप्रसाद पौडेलले बताए । जिल्ला अदालत गुल्मीले चौंथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया कार्यक्रममा अदालतबाट भए गरेका मुद्दा तथा अन्य व्यवस्थापकीय काम तथा लक्ष्य प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला न्यायधिश पौडेलले उक्त कुरा बताएका थिए । कार्यक्रममा यस आर्थिक वर्षको माघ ६ गतेसम्म १ सय ९० थान नयाँ मुद्दा दर्ता हुन आएकोमा १ सय १८ थान मुद्दा सम्बन्ध विच्छेदका मात्र रहेको बताईएको छ । उक्त सम्बन्ध विच्छेदका मुद्दाहरु मध्य ३३ थान मुद्दा पुरुष वादी भई दर्ता भएका छन् । अदालतमा रहेका ४३ थान थुनुवा मुद्दामा १५ थान मुद्दा फर्छयौट गरिएको, विशेष प्रकृतिका निवेदन अन्तर्गत मृत्युको न्यायिक घोषणा २५ थान दर्ता भएकोमा १५ थान निवेदन फर्छयौट गरिएको गुल्मी जिल्ला अदालतका श्रेस्तेदार कृष्णशरण लामिछाने जानकारी गराए ।

अदालतले कैद जरिवाना लगत फर्छयौट अन्तर्गत हालसम्मको कैद लागत ४ लाख ४० हजार ९ सय दश बाँकी रहेको त्यसबाट असुल गर्नु पर्ने कैद जरिवाना स्वरुप १ करोड २२ लाख १७ हजार ३ सय ११ रुपैंयाँ उठाउन बाँकी रहेको बताईएको छ । त्यसैगरि अदालतले असहाय तथा थुनुवा मुद्दाहरुमा वैतनिक कानुन व्यवसायी नियुक्ति गरी असाहय तथा थुनुवाको तर्फबाट निःशुल्क रुपमा वकपत्र तथा वहस पैरवी र प्रतिरक्षा लगायतका कामहरुलाई निरन्तरता दिएको बताईएको छ ।


कार्यक्रममा जिल्ला न्यायधिश पौडेलले कोही पनि निर्दोष व्यक्तिले सजाय पाउन नहुने कुरामा आफुहरु सधैँ सजग र सचेत रहेको भन्दै निरपराधी व्यक्तिहरु अन्यायमा नपरुन् भन्ने उद्देश्यले सत्यको गहिराईमा पुगेर मात्र मुद्दाहरुको फर्छयौट गरिदैं आएको बताए । उनले न्यायिक क्षेत्र र सञ्चार जगत भनेका एक अर्काका सहयोगी भएको समेत बताएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update