पाल्पा, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै समयको कसरत पछि केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पूर्वाधार विकासमन्त्री समेत रहेका सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्रीसमेत रहेका सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ । सह–महामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा.मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल (ललितपुर) तथा सह–प्रवक्तामा डा.नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा.मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल (ललितपुर) लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई मनोनयन गरिएको छ ।
विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ । प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ ।

