Shittalpati
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध

पाल्पा, चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरिएको छ । चैत २ गते मध्यरातदेखि चैत ५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरिएको हो । ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूले आ–आफ्नो पक्षमा प्रचार–प्रसारलाई तीव्र पारेका थिए । तर स्ववियु निर्वाचन आचारसंहिता अनुसार बिहीबार प्रचारप्रसारको अन्तिम दिन थियो । उम्मेदवारले राति चैत २ गते राती १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ ।

प्रचारप्रसार गर्न रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो । २७ फागुनमा उम्मेदवार मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भको थियो । अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरू प्रचार–प्रसारमा जुटेका थिए । कतिपय क्याम्पसहरूमा विभिन्न संगठन र समूहबीच विवादसमेत भएका छन् । विवादका कारण केही क्याम्पसमा स्ववियु चुनावका प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन । केही स्थानमा भने विवादका कारण मनोनयन प्रक्रिया अवरुद्ध भएको छ भने केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । विद्यार्थी संगठनहरुले उपलब्ध गराएको विवरण अनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१ र अखिल क्रान्तिकारीले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएका छन् ।

स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचिन हुनेछन् ।

विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिविले यसपटक जसरी पनि गर्ने गरी अगाडि बढेको छ । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये २६ वटामा मात्र निर्वाचन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update