Shittalpati
भैरहवामा कोरोना परीक्षण प्रयोगशाला स्थापना हुने

बुटवल, (रासस):कोभिड १९ सङ्क्रमण परीक्षणका लागि सरकारले प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला स्थापनासहित आवश्यक विज्ञ जनशक्तिसमेत तोकेको छ । यसैअन्तर्गत प्रदेश नं ५ मा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञका रुपमा जिम्मेवारी तोकेको छ ।

सरकारले प्रदेश नं ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माणका लागि तयारी गरेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य विभाग प्रमुख डा उमाशंकर चौधरीले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रको भवनमा आवश्यक काम शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रयोगशालाका लागि आवश्यक सरसफाइ, टायल बिछ्याइ र रङ्रोगनको काम भइरहेको छ । मेशिन आउनासाथ जडानको काम शुरु गर्छाँै ।’ यो अन्य प्रयोगशालाको उपकरण जस्तो नभई रियल टायम, पिसिआर र किट मेशिनलगायत उपकरण जडान गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउन सकिने प्रमुख चौधरीले जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनका लागि हाल तोकिएका तीन विज्ञ जनशक्तिबाटै काम शुरु गरिने र संक्रमणका बिरामीको चापअनुसार आवश्यक जनशक्ति व्यवस्थापन हुने जानकारी उहाँले दिनुभयो । चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण शुरु गर्ने तयारी सरकारले थालेको हो ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update