पाल्पा,जिल्ला अस्पताल पाल्पाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गरेको छ । अस्पतालले पछिल्लो समय हासिल गरेका उपलब्धि, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी योजनाबारे छलफल गरेको हो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अस्पताल विकास समितिका पदाधिकारी तथा सरोकारवालाले अस्पतालको सेवा सुधारसँगै भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवामा पछिल्ला वर्षमा सुधार हुँदै गए पनि भौतिक संरचना पर्याप्त र व्यवस्थित हुन नसकेको भन्दै आधुनिक भवन, थप जग्गा तथा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माधव थापाले पाल्पाली नागरिकलाई सर्वसुलभ, सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालका विद्यमान सेवाहरूलाई समयअनुकूल प्रविधिमैत्री बनाउँदै विशेषज्ञ सेवा थप गर्दै लैजानुपर्ने बताए । अस्पतालको भौतिक पूर्वाधार विकासका लागि आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न सबै पक्ष मिलेर अस्पतालको समग्र विकासमा लाग्नुपर्ने बताए । विगतका वर्षको तुलनामा पाल्पा अस्पतालको सेवा प्रवाहमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले आगामी दिनमा सेवा अझ गुणस्तरीय, सहज र प्रभावकारी बनाउन अस्पताल प्रशासनलाई आग्रह गरे । स्वास्थ्य सेवामा तोकिएका मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सके स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउन सकिने उनको भनाइ थियो । अस्पतालको भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउँदै सारुले आफू स्वास्थ्य मन्त्री रहँदादेखि नै अस्पतालको भवन निर्माणका लागि पहल गर्दै आएको उल्लेख गरे ।
प्रदेशसभा सदस्य इन्द्रा गहतराजले पाल्पा अस्पतालमा महिला तथा बालरोग विशेषज्ञ सेवाको विस्तारसँगै अन्य स्वास्थ्य सेवाहरूलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले अस्पतालको विकासका लागि प्रदेश सरकारबाट आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको चौतर्फी विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधुनिक भवन निर्माणसँगै आवश्यक थप जग्गाको व्यवस्थापन जरुरी रहेको बताए । अस्पतालको सेवा विस्तार र सुधारका लागि विभिन्न कोणबाट प्रयास भइरहेको भन्दै उनले सबै सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरे । अस्पतालको मूल्यांकनमा आफूहरू क्रमशः उत्कृष्ट बन्दै गएको दाबी गर्दै अध्यक्ष कर्माचार्यले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मानवीय व्यवहारसहित गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न सके संस्थाको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो । भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनको कामसमेत छिट्टै हुने उनले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा, अस्पताल विकास समितिका पूर्वअध्यक्षहरू डा. पुरन बज्राचार्य, नेत्र पाण्डे र गुराँस आत्रेय, युनाइटेड मिसन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रचेल कारक लगायतले अस्पतालको सेवा र पूर्वाधार विकासका विषयमा धारणा राखेका थिए । उनीहरूले स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले अस्पतालको सेवा थप चुस्त, गुणस्तरीय र प्रभावकारी बनाउन सबै पक्षले निरन्तर सहयोग गर्नुपर्ने बताए । अस्पतालको भौतिक तथा संस्थागत विकासमा आफ्नो सहयोग सधैँ रहने उनीहरूको भनाइ थियो ।कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शान्तबहादुर रोक्काले आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालबाट भएका गतिविधि, सेवा प्रवाहको अवस्था तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति तथा सरोकारवाला निकायको महत्वपूर्ण भूमिकाका कारण विगतको तुलनामा सेवा प्रवाहमा केही सुधारको नतिजा देखिएको उनले बताए ।
अस्पतालबाट प्रदान गरिने सेवामा कुनै कमी हुन नदिन अस्पतालको सम्पूर्ण टोली निरन्तर प्रयासरत रहेको डा. रोक्काले बताए । आगामी दिनमा सेवा प्रवाहलाई थप व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउने योजना रहेको उनको भनाइ थियो ।कार्यक्रममा पाल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा ३३ वर्ष सेवा गरी जिल्ला अस्पताल पाल्पाबाट सेवानिवृत्त भएकी सिनियर अनमी शारदा भट्टराईलाई सम्मानसहित बिदाइ गरिएको थियो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यको अध्यक्षता र अस्पतालकी नर्सिङ अधिकृत भगवती न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


