Shittalpati
नेपालमा कोरोना संक्रमित बढे

पाल्पा, नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएपछि संक्रमणको दरमा पनि वृद्धि हुँदै गएको हो । भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका २६० संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा १ सय १३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ । त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्रुवारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ  । हालसम्म नेपालमा २२ लाख ९४ हजार ६७ पीसीआर परीक्षण भएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेको र त्यसको जोखिम नेपालमा पनि रहेको औल्याउँदै सीमानाकामा स्वास्थ्य जाँच कडा पार्न लागिएको छ । मन्त्रालयका अनुसार हालसम्म विभिन्न छ वटा नाकामा डेल्थ डेस्क राखिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update